बागमती करिडोरको ७० प्रतिशत निर्माण सम्पन्न, ढलको काम २०७७ सालमा पुरा गर्ने लक्ष्य



काठमाडौं । बागमती करिडोरको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको उपत्यका विकास प्राधिकरणले बताएको छ ।

हाल चाबहिल खण्डमा काम भइरहेको प्राधिकरणले बताएको छ ।

‘चाबहिल स्थित कालोपुल देखि निलो पुलसम्म कालोपत्रे गर्ने काम भइरहेको छ , उक्त स्थानमा कालोपत्रे भएसँगै १४ किलोमिटर बाटो कालोपत्र हुनेछ,’ काठमाडौं उपत्यका विकास प्राधिकरणका निर्देशक दिलिप भण्डारीले भने ।

हाल अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले करिडोर क्षेत्रमा ढल हाल्ने काम गर्दा सडक निर्माण कार्यमा ढिलाई हुन पुगेको उनले बताए ।

‘ढल हाल्ने काम नभएको भए पूर्वनिर्धारत समय अर्थात् २०७५ मै बाग्मती करिडोरको निर्माण सम्पन्न हुन्थ्यो,’ उनले भने । ढल हाल्ने कामसँगै करिडोर निर्माण कार्य दुई वर्ष पछाडि अर्थात् २०७७ मा मात्र सम्पन्न हुनेछ ।

प्राधिकरणले ढल हाल्ने काम पनि आफूलाई दिएमा आयोजना समय मै सम्पन्न हुने बताएको छ ।
कुल लम्बाई २४ किलोमिटर रहेको उक्त सडक खण्ड चाबेलको निलोपुलसम्म कालोपत्रे भए सँगै १४ किलोमिटर बाटो कालोपत्र हुनेछ । बाटोको चौडाई भने फुटपाथ सहित ९ मिटरको हुनेछ । जसमा ७ मिटरको पिच र डेढ मिटरको फुटपाथ रहनेछ । प्राधिकरणले सो सडकखण्डको लागि यस आवमा १० करोड रकम विनियोजन गरेको छ ।

थापाथली दोभान देखि बुढालीनकण्ठको राममन्दिर सम्म रहेको बागमति करिडोर योजना सम्पन्न गर्नका लागि कुल ४ अर्ब रकम छुटाइएको छ भने हालसम्म साढे २ अर्ब खर्च भएको प्राधिकरणले बताएको छ । समय बढे पनि पूरानै खर्चले पुग्ने प्राधिकरणको भनाई छ ।

२०६६÷६७ सालमा बाग्मती करिडोर निर्माणको जिम्मा काठमाडौं महानगर सँग थियो २०७९÷७० मा आएर मात्र सो जिम्मेवारी प्राधिकरणले प्राप्त गरेको हो ।

सडक जामलाई सहज गर्न उद्देश्यका साथ बागमतीको दुवै किनारमा सडक निर्माण गर्न योजना अघि बढेको हो । जसलाई भित्री रिङरोड भनेर नामाकरण समेत गरेको पाईन्छ ।

महानगरले सुरुवाती समयमा भित्री रिङरोड बनेसँगै जाम कम हुने र सहज रुपमा सवारी साधन सञ्चालन हुने उद्देश्यका साथ काम अघि बढाएको थियो । उपत्यकाको जाम कम गर्न र बागमती करिडोरमा हरियाली समेत स्थापना गर्ने योजनाका साथ बागमती करिडोर अघि बढेको हो , तर बागमती नदी तथा करिडोर प्रयोग गर्ने विषयमा विभिन्न समिति ,उपसमिति बन्दा योजनाहरु अघि बढ्न नसकेको देखिन्छ ।


क्लिकमान्डु