महासंघ बहुमतको निष्कर्शः ब्याजदरको आन्दोलनले जित्यो भने उद्योगी-व्यवसायीले हार्छन्



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बहुमत कार्यकारीणी सदस्यले ब्याजदर घटाउने व्यवसायीको आन्दोलनको विरोध गरेका छन् । केही व्यवसायी र महासंघ नेतृत्वले सस्तो लोकप्रियाताका लागि बैंकको ब्याजदर विरुद्ध आन्दोलन गरेको भन्दै नेतृत्वको चर्को आलोचना गरे ।

कार्यकारीणी सदस्यहरुको बहुमतले ब्याजदर आन्दोलनको विरोध गरेपछि दीर्घकालीन समाधानका लागि विज्ञको कमिटि बनाउने निचोड निकालेको छ । र, उक्त कमिटिले गरेको सिफारिसका आधारमा महासंघले धारणा बनाउने सहमति भएको छ ।

‘अधिकांश सदस्यहरुले केही व्यवसायीको लहैलहैमा लागेर महासंघ नेतृत्व सस्तो लोकप्रियताका लागि बैंकको ब्याजदरका विरुद्धको आन्दोलनमा उत्रिएर गल्ती गर्यो,’ अधिकांश सदस्यहरुको भनाई थियो, ‘यो समस्या त्यति सजिलै समाधन हुँदैन । यो विषय निकै जटिल विषय हो ।’

ग्लोबल आइएमइ बैंकका अध्यक्षसमेत रहेका महासंघका उपाध्यक्ष चन्द्र ढकालले ब्याजदर घटाउने व्यवसायीको आन्दोलनप्रति निकै आक्रोश पोखे ।

‘महासंघ नेतृत्व पपुलिस्ट नाराको पछि लाग्नुभन्दा पहिला बैंकिङ क्षेत्र कति संवेदनशील छ भनेर सोच्नु पर्दैन ?’ ढकालले प्रश्न गरे, ‘बैंक पनि निजी क्षेत्र नै हो, हामी के गर्न खोजिरहेका छौं ?’

महासंघका उपाध्यक्ष शेखर गोल्छाले पपुलिस्ट नारा र दम्भले कसैलाई पनि फाइदा नगर्ने बताएका थिए ।

‘हामी व्यवसायीहरु ब्ल्याक होलतर्फ जान खोजिरहेका छौं, यसले हामीलाई नै सिध्याउँछ,’ गोल्छाले भने, ‘राज्यले बैंकको ब्याजदर तोक्यो भने तपाईहामीले उत्पादन गरेको सामानको भाउ तोक्छ कि तोक्दैन ? यसतर्फ हाामी गंभीर भएको खोई ?’

अध्यक्ष भवानी राणाले पनि यो समस्याको समाधान गर्न सन्तुलित भएर अघि बढ्नुपर्ने बताइन् ।

‘हामी सन्तुलित ढंगले अघि बढेर यो समस्याको समाधान गर्नुपर्छ,’ राणाले भनिन् ।

व्यवसायीहरुले बैंकको ब्याजदरको आन्दोलनले साइड इफेक्ट गर्ने बताए । र, त्यो साइड इफेक्टले व्यवसायीहरुलाई सबैभन्दा ठूलो असर पर्ने उनीहरुको निष्कर्श थियो ।

तर, महासंघकै उपाध्यक्ष किशोर प्रधानले भने आन्दोलनलाई अझै चर्काउनु पर्ने धारणा राखे ।

बिराटनगरमा १३ दिनअघि अध्यक्ष भवानी राणाले १५ दिनभि ब्याजदर नघटाए महासंघले देशभर आन्दोलन गर्ने चेतावनी दिएकी थिइन् ।

‘अध्यक्षज्यूले आन्दोलन गर्ने १५ दिने अल्टिमेटम दिएको आज १३ दिन भयो, अब अल्टिमेटम सकिन २ दिन बाँकी छ,’ एक सदस्यले भने, ‘अब उहाँले के गर्ने हो त्यो हेर्न बाँकी छ ।’

महासंघको आन्तरिक राजनीतिका लागि केही व्यवसायीले ब्याजदरको विषयलाई उछालेको र अध्यक्ष राणाले कार्यसमितिको निर्णय बिनानै जथाभावी बोल्दै हिँडेको भन्दै सदस्यहरुले चर्को आलोचना गरेका थिए ।

महासंघको कार्यकारीणी बैठक आज बसेको थियो ।


पुष्प दुलाल