शिवम् सिमेन्टको आइपीओमा ४६ लाख ६० हजार कित्तामा पर्यो आवेदन
काठमाडौं । शिवम् सिमेन्टको आइपीओ (साधारण सेयर) मा ४३ लाख ३४ हजार ५५० कित्ताका लागि ४४ हजार १३४ जना सर्वसाधारणले आवेदन दिएका छन् ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शिवम् सिमेन्टको आइपीओमा आयोजना प्रभावित ७१४ जनाले ३ लाख २६ हजार १४० कित्तामा आवेदन दिएका छन् । स्थानीय र आयोजना प्रभावितसहित ४६ लाख ६० हजार ६९० कित्तामा आवेदन परेको छ ।
शिवम् सिमेन्टले छिटोमा फागुन ९ गतेसम्म प्रतिकित्ता ३०० रुपैयाँको दरमा सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता आइपीओ खुला गरेको थियो । उक्त सयमसम्ममा माग अनुसार आवेदन नपरेपछि चैत ५ गतेसम्म आवेदन दिन पाइने छ ।
कम्पनीले ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । सामूहिक लगानी कोषलाई २ लाख २० हजार कित्ता छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्रीमा ल्याइएको बिक्री प्रबन्धकले जनाएको छ ।
यसअघि स्थानीयलाई ३०० रुपैयाँका दरले ८ लाख ८० हजार कित्ता आइपीओ खुला गरेको थियो । त्यो समयमा २ लाख २४० कित्ताका लागि आवेदन परेको थियो । त्यो समयमा बाँडफाँट नभएको सेयर स्थानीय बासिन्दालाई नयाँ मुल्य अर्थात २०० मा १ लाख १२० कित्ता सेयर थप्ने जनाएको छ । ५ लाख ७९ हजार ६४० कित्ता सेयरमा स्थानीयले प्रकिकित्ता २०० रुपैयाँको दरले दिइरहेका छन् ।