सरकारले पाथिभरामा केवलकार सञ्चालनका लागि रुख काट्ने अनुमति दियो
काठमाडौं। सरकारले पुर्वी नेपालको ताप्लेजुङस्थित पाथिभरादेवी मन्दिरलाई लक्षित गरी सञ्चालन गर्न लागिएको केबलकार निर्माणका लागि रुख काट्ने अनुमति दिएको छ । वनले रुख काट्ने सहमति नदिएका कारण लामो समयदेखि पाथिभरामा केवलकार निर्माण हुन सकिरहेको थिएन ।
मन्त्रिपरिषदको पछिल्लो बैठकले रुख काट्ने स्वीकृति दिएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
‘पाथिभरा देवीको दर्शनका लागि सञ्चालन गर्न लागिएको केवलकार निर्माणका लागि वनको प्रयोग गर्ने अनुमति दिइएको छ,’ बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजानिक गर्दै बाँस्कोटाले भने ।
श्री पाथिभरादेवी दर्शन केवलकार प्रालिले कुल ८ करोड ८४ लाख रुपैंयाको लगानीमा केबलकार निर्माण गर्न लागिएको हो ।
ताप्लेजुङको फावाखोला गाविसको वार्ड नम्बर ९ मा निर्माण हुन लागेको यो केवलकार विराटनगरका उद्यमी ध्रुवनारायण श्रेष्ठले निर्माण गर्न लागेका हुन् ।
केवलकार फावाखोला गाविसको निकाश डँडेलेडाँडादेखि पाथिभरा मन्दिरसम्म २७ सय ५० मिटर अग्लो हुनेछ । करिब ४ हजार मिटरको उचाइमा रहेको यो मन्दिरमा वार्षिक हजारौं तीर्थयात्रीले भ्रमण गर्ने गरेका छन्।