सेयर धितोमा ६५ प्रतिशतसम्म ऋण दिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा मूल्यको ६५ प्रतिशतसम्म ऋण दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । बुधबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले यसअघि ५० प्रतिशत ऋण दिन पाउने सीमालाई बढाएर ६५ प्रतिशत पुर्याएको हो ।

सेयर बजार लगातार घटेपछि अर्थमन्त्री युवराज खतिवडाले पुँजी तथा मुद्रा बजारको समस्या समाधानका लागि के के गर्नुपर्छ भनेर डेपुटी गभर्नरको संयोजकत्वको कार्यदल बनाएका थिए । कार्यदलले सेयर धितो कर्जा ६५ प्रतिशत पुर्याउने लगायतका सुझाब दिएको थियो ।

कार्यदलको उक्त सुझाब कार्यान्वयन गर्दै राष्ट्र बैंकले सेयर धितोमा ६५ प्रतिशतसम्म कर्जा दिन पाउने ब्यवस्था गरेको हो । पछिल्लो १८० कार्यदिनको औषत मूल्य वा सेयरको प्रचलित बजार मूल्य जुन कम हुन्छ, सो को बढीमा ६५ प्रतिशतसम्म ऋण दिन पाइने ब्यवस्था मिलाएको हो ।

सेयर धितोमा १ वर्षभन्दा बढी कर्जा दिन नपाइने राष्ट्र बैंकले जनाएको छ । तर, कर्जा उपयोग गरिरहेका ऋणीले आफूले लिएको कर्जाको सम्पूर्ण बक्यौता ब्याज भुक्तानी गरी कर्जा नियममित गरेको अवस्थामा भने ऋण नविकरण हुनेछ ।

त्यसैगरी, यसअघि मौद्रिक नीतिमा बैंकहरुले प्राथमिक पुँजीको २५ प्रतिशत सेयर धितोमा ऋण दिन पाउने ब्यवस्थालाई बढाएर ४० प्रतिशत पुर्याएको छ । यसरी ऋण दिँदा एउटै कम्पनीको सेयरको धितोमा बढीमा १० प्रतिशत मात्रै ऋण दिन पाइनेछ ।


पुष्प दुलाल