लिवर्टी ईनर्जीले आइपीओ निश्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल नियुक्त



काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लि, काठमाण्डौद्धारा प्रवद्र्धित लमजुङ जिल्ला स्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको साधारण शेयर निष्काशन हुने भएको छ ।

आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण समेतको लागि साधारण शेयर जारी गर्न प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी कम्पनी लि. र बिक्री प्रवन्धक एनआईविएल एस क्यापिटल लि.बीच यही पुस २ गते साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा प्रवद्र्धक कम्पनीको तर्फबाट प्रबन्ध संचालक डा. आत्माराम घिमिरे तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरे ।

यस कम्पनीको हाल अधिकृत पुँजी १ अर्व ५० करोड रहेकोमा उक्त पूँजीको १०% का दरले हुन आउने १५ करोड बराबरको १५ लाख कित्ता शेयर उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाका स्थानिय बासिन्दाहरुलाई र थप १५% अर्थात २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणहरुमा जारी गर्ने योजना रहेको छ ।

यसरी शेयर जारी गरी बाँडफाँट गरे पश्चात कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी१ अर्व ५० करोड हुनेछ ।

यस कम्पनीले हाल निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिका (साविक फलेनी र ढोडेनी गाविस) मा अवस्थित छ ।

उक्त आयोजनाको हाल टनेल खन्ने कार्य सम्पन्न भई सो को फिनिसिङ कार्य भईरहेको, पेनस्टक पाईप राख्ने काम अन्तिम चरणमा पुगिसकेको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको कार्य समेत अन्तिम चरणमा पुगेको र पावरहाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु साईट सम्म ढुवानी भईरहेको तथा जडानको लागि समेत तयारी भईरहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करीब ८५% सम्पन्न भई सकेको छ साथै आगामी चैत्र मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

उक्त आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग भएको सम्झौता अनुसार व्यापारिक उत्पादन गर्नुपर्ने मिति २०७६ भाद्र १४ गतेसम्म रहेको छ ।


क्लिकमान्डु