व्यवसायीहरु कम्पनी मोडलमा जान तयार, दर्ता नभएका सवारी पुस १ बाट चल्ने नदिने विभागको तयारी
काठमाडौं । यातायात व्यवसायीहरु कम्पनी मोडलमा जान तयार भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आज सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
महासंघले कम्पनीमा जानका लागि संघसंस्था दर्ता ऐन २०४३ अन्तर्गत दर्ता भएका समितिहरुको चलअचल सम्पत्ती, कर्मचारी, दायित्व सवारी साधन रुपान्तरण सहितको कम्पनीमा रुपान्तरण गर्न नेपाल सरकारलाई अनुरोध गरेको हो ।
महासंघका महासचिव सरोज सिटौलाले भने- ‘हामीले रुपान्तरण सहितको प्रालिमा जान एकमतले निर्णय गरेका छौँ, मन्त्रीज्यूलाई आफ्नो निर्णयपनि बुझाइसकेका छौँ, अब के निर्णय हुन्छ थाहा छैन ।’
यस्तै यातायात व्यवस्थापन विभागले भने कम्पनीमा दर्ता हुन नआउने कुनैपनि सवारीलाई रुट पर्मिट नदिने बताएको छ ।
पुष १ गतेबाट सूचिकृत नहुने सबै गाडीहरु अवैध हुने भन्दै विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले सरकारले दिएको समयभित्र प्रक्रियामा नआएका सबै गाडीलाई कारबाही गर्ने बताएका हुन् ।
‘कम्पनीमा दर्ता नभएका कुनै गाडीलाई रुट पर्मिट दिइने छैन,’ उपाध्यायले भने ।
यातायात क्षेत्रमा देखिएको सिन्डिकेट अन्त्य गर्न भन्दै सरकारले कम्पनी दर्ता गरी यातायात कार्यालयमा सूचिकृत हुन मंसिर मसान्तसम्मको समय दिएको छ ।
यातायात व्यवस्था विभागको तथ्यांक अनुसार पुष १ गतेदेखि ९७ प्रतिशत गाडीहरु अवैध हुँदैछन् ।
अहिले भएका ४ लाखभन्दा बढी गाडीमध्यै ७ हजार मात्रै सूचिकृत भएका छन् । यातायात कार्यालयमा अहिलेसम्म झण्डै ३ प्रतिशत गाडी मात्रै सूचिकृत भएको उपाध्यायले जानकारी दिए ।