डुबायो क्रिप्टो करेन्सीले: २० हजार डलरमा किनेको बिटक्वाइनको मूल्य ४ हजारमा झर्यो
काठमाडौं । भर्चुअल मुद्राको रुपमा रहेको बिटक्वाइनको मूल्य अप्रत्यासित रुपमा घट्न थालेको छ । पछिल्ला ७ दिनमा मात्रै बिटक्वाइनको मूल्य थप २५ प्रतिशतले घटेको भने एक महिनामा ३६ प्रतिशतले घटेको छ ।
१७ डिसेम्बर २०१७ मा एक बिटक्वाइनको मूल्य १९ हजार ८९१ डलर रहेकोमा यस सालको फेब्रअरी महिनामा घटेर ६ हजार डलरमा झरेको थियो ।
क्रिप्टो करेन्सी बिट क्वाइनको मूल्य पछिल्लो ११ महिनामा ७८.९३ प्रतिशतले घटेको छ । हाल बिटक्वाइनको मूल्य ४ हजार ११९ डलरमा सिमित भएको छ ।
यस वर्षको जनवरी फेब्रुअरीको बीचमा बिट क्वाइनको मूल्यमा सबैभन्दा बढी गिरावट आएको थियो । सन् २०१८ को ६ जनवरीमा बिटक्वाइनको मूल्य १६ हजार ६६५.३१ डलर रहेको थियो ।
यस्तै ६ फेब्रअरीमा ६ हजार ८१२.५१ बिन्दुमा पुगेको बिटक्वाइनको मूल्य क्रमशः घटदै ६ हजार डलरमा पुगेको थियो ।
विश्लेषकहरुका अनुसार किप्टो करेन्सीको नियमक निकायले छानबिन थालेपछि संसारभर नै आशंका बढाइदिएको छ । जसका कारण किप्टो करेन्सीको मूल्यमा गिरावट आएको छ ।
सबै क्रिप्टो करेन्सीको मूल्यांकन शुक्रबार १३८. ६ डलर रहेको थियो । सेप्टेम्बर २०१७ देखि बजार मूल्य घट्दै ७ सय अर्ब डलर घटेको छ ।
संसारभर नै क्रिप्टो करेन्सीको विषयलाई लिएर ठूलो आशंका पैदा भएको छ । गलत काम गरेको भन्दै संसारभर नै अनुसन्धान सुरु भएपनि उपभोक्ताले किप्टो करेन्सीको विश्वास गुम्दै गएको हो ।
पछिल्लो साता मात्रै अमेरिकी नियमक निकाय सेक्युरिटिज एण्ड एक्सचेञ्जले कित्टो करेन्सी इन्डस्ट्रिजमा धोकाधडीको मुद्दामा केही सञ्चालकलाई सोधपुछ मात्रै गरेन, जरिवाना समेत तिराएको थियो ।
सञ्चार माध्यमहरुकाअनुसार अमेरिकी नियमक निकायले सो विषयमा हाल समेत सोधपूछ गरिरहेको छ ।
पछिल्लो पटक भारतमा समेत किप्टो करेन्सीको खरिदलाई रिजर्भ बैंक अफ इण्डियाले रोक लगाएको छ । बिटक्वाइनको कारोवार गर्ने उद्देश्यले बैंगलोरमा खोलिएको एटिएमसमेत प्रहरीले बन्द मात्रै गराएन, फाउण्डरलाई नै गिरफ्तार गरेको थियो ।
भर्चुअल संसारमा सातोशी नाकामोतो समूहले सुरु गरेको थियो । सन् २००९ मा बिटक्वाइन को सुरुवात भएको हो । यो पूर्ण रुपमा डिजिटल करेन्सी हो । यसको खरिद बिक्री केवल अनलाइनमा मात्रै हुन्छ ।
पछिल्लो समय नेपालमा समेत बिटक्वाइनको कारोवार मौलाएको बताइन्छ ।
तर कुनै पनि कारोवारीले मैले विटक्वाइन कारोवार गरे भनेर भन्न सक्ने अवस्था रहेको छैन । किनकी कानूनी रुपमा विटक्वाइनको कारोवार गर्नु दण्डनिय रहेको छ ।