३५ अर्बमा बन्छ भनेको माथिल्लो तामाकोशीको लागत ७० अर्ब पुगेपछि यसरी जंगिए उर्जामन्त्री



काठमाडौ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशीको लागत र समयावधी बढ्दै गएपनि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुन आक्रोशित भएका छन् ।

कूल ३५ अर्बको आयोजनाको लागत बढेर ७० अर्ब रुपैयाँको हाराहारीमा पुगेपछि मन्त्री पुनले आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्याय नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमना घिसिङ, आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठलगायतलाई बोलाएर आयोजनाको प्रगतिमा भइरहेको ढिलाईप्रति गुनासो व्यक्त गरेका हुन् ।

कूल ४५६ मेगावाट क्षमताको आयोजनाको भौतिक प्रगति ९७ प्रतिशत रहेपनि पछिल्लो समयमा भारतीय ठेकेदार कम्पनी टेलम्याकोले तोकिएअनुसार काम नगर्दा आयोजना प्रभावित भएको छ ।

आयोजनाको मुख्य काम नै बाँकी रहेपछि मन्त्री पुनले किन त्यस्तो भएको हो भनेर जिज्ञासा राख्दै तत्काल समस्या समाधानका लागि आग्रह गरेका हुन् ।

ठाडो सुरुङमा जडान गर्नुपर्ने स्टिल लाइनिङको काम अगाडि बढ्न सकेको छैन । भारतीय ठेकेदार कम्पनी दुइृ वटा ठाडो सुरुङमा जडान गर्नुपर्ने पाइप जडान गर्न सकेको छैन । सिभिल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सम्पन्न गरेपनि अरु काम भने अगाडि बढ्न सकेको छैन ।

टेलम्याकोले काम नगरेपछि त्यसको जिम्मा समेत एन्ड्रिज हाइड्रोलाई दिने तयारी गरिएको छ ।

‘आयोजना सधै यत्तिकै हालतमा राख्न सकिदैन, किन ढिलाई भएको हो ? समसस्या के हो ? समाधान कसरी निस्कन्छ ? भनेर मन्त्री पुनले प्रश्न गरेका थिए ।

उनले जसरी भएपनि आयोजनाको काम तत्काल सम्पन्न गर्नुपर्ने र कुनै पनि हालतमा अवरोध हुन नहुनेगरी आयोजना प्रमुख तथा प्राधिकरणका कार्यकारी निर्देशनकलाई निर्देशन दिएका छन् ।


पुष्प दुलाल