नेपाली हस्तकलाबारे कूटनीतिज्ञद्वारा जानकारी, अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला जारी




काठमाडौँ । नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेलामा तीन मुलुकका राजदूतले नेपाली हस्तकला सिर्जनाका शैली तथा मौलिक पक्षबारे जानकारी लिनुभएको छ ।

यही कात्तिक २८ गतेदेखि आगामी मङ्सिर २ गतेसम्म चल्ने मेलामा आज साँझसम्म भारतका राजदूत मञ्जिभसिंह पुरी, जापानका मासामिची साइगो र जर्मनीका रोलाण्ड शेफर पुगेका थिए ।
मेलामा अर्थमन्त्रालय (राजश्व) का सचिव शिशिर ढुंगानाले हस्तकला क्षेत्रको संरक्षणका लागि सम्बन्धित व्यवसायीलाई आवश्यक कच्चा पदार्थ आयातमा सहुलियत उपलब्ध गराईने प्रतिबद्धता व्यक्त गरे ।

मेलामा धातुकला, सुनचाँदी, ऊनी तथा सुती, ढाकाका सामान, पस्मिना, हाते कागज, छालाजन्य सामग्री, प्राकृतिक रेशा र बाँसका सामान, जडीबुटीलगायतका वस्तु राखिएका छन् । स्वदेशी तथा विदेशी व्यवसायीका सामग्री प्रवद्र्धन तथा बिक्री गर्न १७० कक्ष राखिएको छ ।

सोही मेला अन्तर्गत १४औँ हस्तकला प्रतियोगितामा परम्परागत विधातर्फ ‘मैनको मूर्ति’ र ‘ढाका बुनाइ’ समावेश गरिएको छ । प्रतियोगितामा संलग्न कलाकार तथा कालिगडले मैनको प्रयोगबाट बनाएका विभिन्न मूर्ति, ढाका बुनेको दृष्यलगायतले प्रदर्शनीको रौनकता बढाएको छ ।

उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ५०, ३० र २० हजार नगद तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ । दुईदिनमा झण्डै २५ हजार दर्शक सहभागी भएका आयोजकले जनाएको छ ।


क्लिकमान्डु