छठ पर्व अन्तर्गत दोस्रो दिन खरना मनाइँदै
काठमाण्डौ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।
खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभर उपवास बस्ने गरिन्छ । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ ।
गम्हरी चामल नभएमा धानको चामलको प्रयोग गरिन्छ । कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ । यस दिनको नैवेद्य चढाउने बेलामा जतिवटा अर्घदान गरिने हो, त्यतिवटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, पान र सुपारी आदि राखिन्छन् । नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ, नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रती र परिवारजनले प्रसाद ग्रहण गर्छन् ।
कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व हिजो ‘नहाय-खाय’ विधिसँगै सुरु भएको हो । केही वर्षअघिसम्म मिथिलाञ्चलमा मात्र मनाइने छठ पर्व पछिल्ला वर्षहरुमा भने काठमाडौं उपत्यकासहित पहाडि जिल्लामा पनि मनाउन थालिएको छ ।
पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन बिहानै नुवाई–धुवाई गरेर निराहार ब्रत बसेका ब्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने गरिन्छ ।
झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिँदा देखाइएका सामग्री देखाएर अर्को अर्घ दिएपछि यो पर्व सम्पन्न हुन्छ ।