माथिल्लो तामाकोशीको आइपिओ भर्नेले न्यूनतम् ४५ र अधिकतम् ५० कित्ता पाउने



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर (आईपीओ) मा आवेदन दिनेले न्यूनतम् ४५ कित्ता र अधिकतम ५० कित्ता सेयर पाउने भएका छन् ।

दुई साताभित्र बाँडफाँट गरिने कम्पनीले जनाएको छ । तामाकोशीको सेयरमा ३ लाख ४६ हजार १ सय ६६ जनाले आवेदन दिएका छन् ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आयोजनाले निष्काशन गरेको सेयरमा ६ अर्ब ७० करोड ५८ लाख २८ हजार बराबरको आवेदन परेको छ ।

केही आवेदन भने रद्द हुने देखिएको न्यौपानेले जानकारी दिए । नाम थर स्पष्ट नभएको, हितग्राही खाता भर्न छुटेका तथा ठेगाना स्पष्ट नभएका केही शेयर आवेदन भने रद्द हुनेछ ।

कम्पनीले यही कात्तिक १५ गतेदेखि कूल पूँजीको १५ प्रतिशतले हुन आउने १ अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । यही कात्तिक १९ गतेसम्म देशभरबाट आवेदन सङ्कलन गरेको थियो ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल थिए ।

कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।


पुष्प दुलाल