मध्यभोटेकोशीको एक अर्ब ४४ करोड बराबरको सिमित आइपिओ आउँदै




काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीहरुले एक पछि अर्को गर्दै साधारण सेयर (आइपिओ) बिक्री गर्दै गएका छन् ।

केही समय पहिले प्राधिकरणको सहायक कम्पनीको रुपमा रहेको साञ्जेन, रसुवागढी जलविद्युत् आयोजनाले सिमित साधारण सेयर बिक्री गरेका थिए । सोही क्रममा प्राधिकरणको अर्को सहायक कम्पनी माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले पनि दोलखाबासीलाई साधारण सेयर बिक्री गरिसकेको छ ।

यसअघि सोही कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, लगानीकर्ता कम्पनीका कर्मचारीलाई पनि साधारण सेयर बिक्री गरिसकेको छ ।

घर घरमा शेयर र जनजनमा विद्युत् भने जस्तै सरकारी स्वामित्वका कम्पनीले धमाधम साधारण सेयर बिक्री गरिरहेको बेला प्राधिकरणकै सहायक कम्पनीको रुपमा रहेको मध्य भोटेकोशी जलविद्युत् कम्पनीले पनि साधारण सेयर बिक्री गर्ने भएको छ ।

सो जलविद्यूत कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत असोज २९ गते अनुमति दिएको छ ।

जलविद्युत कम्पनीले पहिलो चरणमा सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक सेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ताको आईपिओ बिक्री गर्ने अनुमति पाएको हो ।

कम्पनीले गत असार १७ गते धितोपत्र बोर्डमा आईपिओ निष्काशनको अनुमति माग्दै निवेदन दिएको थियो भने बोर्डले असोज २९ गते स्वीकृति दिएको हो ।

जसमध्ये कर्मचारी संचय कोषका सञ्चयकर्ताहरुका लागि कुल एक अर्ब १७ करोड बराबरको एक करोड १७ लाख कित्ता सेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि २१ करोड बराबरको २१ लाख कित्ता सेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ करोड बराबरको ६ लाख कित्ता सेयर बिक्री गर्नेछ ।

जलविद्युत कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड रहेका छन् ।

पहिलो चरणको सेयर निष्काशन पछि दोस्रो चरणमा सिन्धुपाल्चोकबासीका लागि ६० करोडको आईपीओ र तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीलाई ९० करोडको आईपीओ निष्काशन गर्नेछ ।

सो आयोजनाको विद्युत उत्पादन क्षमता १०२ मेगावाट छ । यो आयोजना १४ अर्ब ८४ करोड रुपैयाँमा निर्माण भएको हो । आयोजनाको भौतिक प्रगति ५६ प्रतिशत छ भने आयोजना आगामाी २ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

अहिले कम्पनी निष्कासन गर्न लागेको १ अर्ब ४४ करोड रुपैयाँ बराबरको कर्मचारी संचयकोषका संचयकर्ता, ऋण दाता संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीको लागि हो । आयोजना प्रभावित स्थानीय र अन्य सर्बसाधारणको लागि भने बेग्लै आइपीओ आउनेछ ।


क्लिकमान्डु