भैरहवा विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना हुन थाले



भैरहवा । भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना सुरु भएको छ । उद्योग स्थापनाका लागि उद्योगीहरुले सम्झौता गरेर भु–बहाल शुल्क बुझाएसँगै उद्योग स्थापना सुरु गरेका हुन् ।

सेजमा उद्योग स्थापनाका लागि २४ वटा उद्योगले सेजसगँ सम्झौता गरेका थिए । तर २४ मध्ये ६ उद्योगले भु-बहाल शुल्क नबुझाएपछि सेजले उनीहरुसगँ भएको सम्झौता खारेज गर्दै पुन उद्योग स्थापनाका लागि नयाँ आवेदन माग गरेको छ ।

बाँकी भु-बहाल शुल्क बुझाएका उद्योगहरुले पूर्वाधार निर्माणको डिजाईन लगायत कार्य सुरु गरिसकेको सेज प्राधिकरणका प्रवक्ता सुन्दर थापाले जानकारी दिए ।

उद्योग स्थापनाका लागि उद्योगीहरु सम्झौता गरेर आन्तिरक तयारीमा जुटिसकेका छन् उनले भने सम्भवत तिहार पछि उद्योग स्थापनाका लागि भौतिक पूर्वाधारको निर्माण क्रम बढ्नेछ ।

हाल सेजमा शक्ति मिनरल्स उद्योगले भौतिक पूर्वाधारको निर्माण धमाधम गरिरहेको छ । मिनरल्स उद्योगले अगामी ३ महिना भित्र उद्योग संचालनमा ल्याउने उनले बताए ।

सम्झौता गरेका उद्योगहरुले एक वर्षभित्र आफ्नो व्यवासायिक उत्पादन सुरु गरिसक्नुपर्ने भएकोले सेज संचालनमा आउन अब समय नलाग्ने उनको भनाई छ । सेज पूर्ण रुपमा संचालनमा आउँदा झण्डै ५ हजार जनाले रोजगारी पाउने र १० अर्ब बढीको लगानी हुने प्राधिकरणले जनाएको छ ।

सेजमा उद्योगको पुर्वाधार निर्माणका लागि आवश्यक विद्युतको समेत प्रबन्ध मिलाईएकाले पुर्वाधार निर्माणमा ढिलाई नहुने उनले बताए । उनले सेजमा पूवार्धार निर्माणको लागि एक मेगावट विद्युत आवश्उय रहेपनि हाल ६ मेगावाट बिद्युत उपलब्ध रहेको जानकारी दिए ।

त्यस्तै ६ वटा सम्झौता खारेज भएको उद्योग मध्ये एउटा किरण सुज म्यानुफ्याक्चर्स उद्योग पनि हो । यो उद्योगले आफ्नो पुरानो उद्योगको मेसिन तथा औजार सेजमा लैजान पाउनु पर्ने माग गर्दै आएको छ ।

तर, पुरानो मेसिन लैजानका लागि सेजको ऐन बाधक बनेको छ । किरण सुजको हकमा उद्योग मन्त्रालयमा एउटा कार्यदल गठन भएको छ । गठन भएको कार्यदलले प्रतिवेदन पेश गरेपछि उक्त प्रतिवेदनमाथि मन्त्रीपरिषदले छलफल गरेर किरण सूजलाई सेजमा पुरानै मेसिनले उद्योग संचालन गर्न दिने/नदिने विषयमा मन्त्रीपरिषदले निर्णय गर्ने प्रवक्ता थापाले बताए ।

उनले मन्त्रीपरिषद निर्णय पश्चात खारेज भएको उद्योगहरुको स्थानमा आवदेन दिएका मध्ये ६ वटा उद्योगहरुसगँ पनि सम्झौता हुने बताए ।

के हो विशेष आर्थिक क्षेत्र ?

विशेष आर्थिक क्षेत्र नेपाल सरकारले देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढि भएका समानहरु उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्नको लागि ल्याएको नीति हो । यो क्षेत्रमा स्थापना हुने उद्योगहरुको लागि प्रारम्भिक आधारभुत विकास निर्माण काम नेपाल सरकारले नै निर्माण गर्छ ।

यो क्षेत्रमा स्थापना भएका जुनसुकै उद्योगहरुले आफ्नो उत्पादनका ७५ प्रतिशत सामान विदेश निर्यात गर्नु पर्छ । उद्योग भित्रका कर्मचारीहरुले केही निश्चित बर्ष सम्म हड्ताल तथा आन्दोलन गर्न र उद्योग बन्द गराउन पाउदैनन् ।

यसको साथै उद्योगहरुले विदेशमा आफ्नो सामानहरु निर्यात गर्द कुनै पनि भन्सार कर तिनु पर्दैन भने विदेशबाट उद्योगको लागि आवश्यक पर्ने कच्चा पर्दाथ खरिदमा भन्सारमा छुट हुन्छ । जसको कारण स्वदेशमा उत्पादन भएका बस्तुहरु विदेशमा निर्यात हुनाले बढी भन्दा बढी विदेशी मुद्रा आर्जन गरी देश समृद्ध बनाउने सरकारको उद्देश्य रहेको छ ।

कस्ता उद्योग रहन्छन् ?

बिशेष आर्थिक क्षेत्रमा बिशेष गरि वातावरणलाई असर नगर्ने खालका उद्योग सञ्चालन हुनेछन् । सेजमा बिशेष गरि खाद्य उद्योग तथा कृषि जन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका बस्तु, तयारी पोशाक, गलैचा तथा उनि समान, पश्मिना तथा रेशम, हातेकागजका बस्तु गरि १७ किसिमका उद्योगहरु सेजमा रहने छ । ५२ बिगाहामा फैलिएको सेजमा ६८ वटा प्लट रहेको छ ।


पुष्प दुलाल