नेपालमा करोडपतिको संख्या १७ हजार १५० !



सांकेतिक तस्बिर

काठमाडौं । नेपालमा करोडपतिको संख्या कति होला ? कहिल्लै अनुमान गर्नु भएको छ ।

नेपालमा डलर अर्बपति विनोद चौधरी छन् । फोब्र्सको सूचिमा सूचिकृत उनीसँग १ अर्ब ५० करोड अमेरिकी डलरको सम्पत्ति छ । यसबाहेक अष्ट्रेलिया बस्ने गैर आवासीय नेपाल शेष घले ८७ करोड ६० लाख अमेरिकी डलर बराबरको सम्पत्ति छ ।

चौधरी र घलेबाहेक अन्य नेपालीको सम्पत्तिको विवरण सार्वजनिक छैन ।

स्वीजरल्याण्डमा कार्यालय रहेको वित्तीय सेवा दिने कम्पनी क्रेडिट सुइसको प्रतिवेदनलाई  आधार मान्ने हो भने नेपालमा करोडपतिको संख्या १७ हजार १५० रहेको देखिन्छ । यो भनेको बयष्क करोडपतिको संख्या हो ।

क्रेडिट सुइसले जारी गरेको ‘ग्लोबल वेल्थ रिपोर्ट २०१८’ अनुसार नेपालीसँग ३५ अर्ब अमेरिकी डलरको सम्पत्ति भएको भनेको छ ।

रिपोर्टले नेपालमा २ करोड ९४ लाख जनसंख्या रहेको र त्यसमा वयष्कको जनसंख्या १ करोड ७१ लाख १५० रहेको भनिएको छ । १८ वर्षदेखि ६५ वर्षसम्मको उमेर समुहलाई बयष्क मान्ने गरिन्छ । देश अनुसारको यसको परिभाषा फरक छ ।

जस अनुसार एकजना एकजना वयष्कसँग २ हजार ५४ अमेरिकी डलर सम्पत्ति छ । जसमा वित्तीय सम्पत्ति ७०४ अमेरिकी डलर,गैर वित्तीय सम्पत्ति १ हजार ३२ अमेरिकी डलर रहेको छ । एउटा बयष्क नेपालीसँग ८२ अमेरिकी डलरको ऋण छ । रिपोर्टले मिडियन पर एडल्ट ८३४ अमेरिकी डलर भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा एकवर्षको अवधीमा नेपालीको सम्पत्ति ३ अर्ब डलरले बढेको देखिएको छ । सन् २०१७ को प्रतिवेदनमा नेपालीसँग ३२ अर्ब अमेरिकी डलर सम्पत्ति भएको देखाइएको थियो ।

सन् २०१७ मा बयष्क नेपालीसँग १९३५ अमेरिकी डलरको सम्पत्ति थियो । जसमा वित्तीय सम्पत्ति ६६३ अमेरिकी डलर तथा गैर वित्तीय १३४९ अमेरिकी डलर थियो ।

७७ अमेरिकी डलर एउटा वयष्क नेपालीको ऋण थियो । मिडियन पर वेल्थ भने बयष्क नेपालीसँग ७८५ अमेरिकी डलर रहेको थियो ।

प्रतिवेदन अनुसार सम्पत्तिको वितरणको आधारले १० हजार अमेरिकी डलरभन्दा कम सम्पत्ति हुने बयष्क नेपालमा ९७.४ प्रतिशत छन् । रिपोर्टमा उल्लेख भएको जनसंख्याको आधारमा यो संख्या १ करोड ६७ लाख ४ हजार हो ।

यस्तै रिपोर्टमा १० हजारभन्दा माथि र १ लाख अमेरिकी डलरसम्म सम्पत्ति हुने नेपाली वयष्कको संख्या २.५ प्रतिशत भनिएको छ । यो भनेको ४ लाख २८ हजार हो ।

१ लाख अमेरिकी डलरदेखि १० लाख अमेरिकी डलरसम्म सम्पत्ति भएका नेपाली वयष्कको संख्या ०.१ प्रतिशत छ । रिपोर्टमा उल्लेख भएको वयष्कको जनसंख्याको आधारमा यो संख्या भनेको १७ हजार १५० हो ।

आजको विनिमय दर अनुसार १ अमेरिकी डलरको मूल्य १८ रुपैयाँ छ । रिपोर्टले १ लाख अमेरिकी डलरदेखि १० लाख अमेरिकी डलर सम्पत्ति हुने वयष्कको संख्या १७ हजार १५० भनेको छ । यस आधारमा नेपालमा नेपाली रुपैयाँमा करोडपतिको संख्या १७ हजार १५० जना देखिन्छ ।

रिपोर्टले विश्वमा  ३१७ ट्रिलियन अमेरिकी डलर सम्पत्ति भएको उल्लेख गरेको छ । विश्वमा ४ करोड २० लाख जना मानिस अमेरिकी डलरमा मिलिनियर छन् ।

पछिल्लो समय भारतमा मिलिनियरको संख्या अत्याधिक बृद्धि भएको छ । रिपोर्टका अनुसार एकवर्षमा मात्र भारतमा ७३ सय जना नयाँ करोडपति थपिएका छन् । भारतमा करोडपतिको संख्या ३ लाख ४३ हजारजना करोडपति छन् ।


क्लिकमान्डु