नेपाली ब्यापारीले विदेशमा किनेको सामान विदेशमै बेच्न पाउने, पैसा भने पहिल्यै आउनु पर्ने




काठमाडौं । नेपाली ब्यापारीले मध्यस्थता ब्यापार गर्न पाउने भएका छन् । अन्तराष्ट्रिय बजारमा किनेको सामान नेपाल नभित्र्याइ नेपाली ब्यापारीले विदेशको कुनै पनि पोर्टबाट अर्काे देशलाई सामान बेच्न पाउने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले नेपाली ब्यापारीको लागि यस्तो सुविधा दिएको हो । यसअघि यस्तो सुविधा थिएन । तर, यसरी विदेशमा किनेको सामान विदेशमै बेच्नको लागि नेपाली ब्यापारीले अग्रीम रुपमा विदेशी मुद्रा प्राप्त भएको प्रमाण भने पेश गर्नुपर्नेछ ।

‘विदेशबाट अग्रीम रुपमा विदेशी मुद्रा प्राप्त भएको प्रमाण प्रतितपत्र खोल्ने बैंकमा प्राप्त भइसकेपछि सोको आधारमा तेस्रो मुलुकका सामान विभिन्न पोर्टहरु मार्फत नेपाल नभित्र्याइ सिधै मध्यस्थता व्यापार अन्तरगत नेपाल बाहेक अन्य मुलुकमा प्रतीतपत्र मार्फत् अन्तराष्ट्रिय प्रचलन अनुरुप निर्यात ब्यापार गर्न सकिनेछ,’ राष्ट्र बैंकले परिपत्र जारी गर्दै भनेको छ ।

आफूहरुले विगतदेखि नै यस्तो ब्यवस्थाको माग गरेकोले सो ब्यवस्था स्वागतयोग्य भएको नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए ।

‘हामीले विगतदेखि नै यस्तो ब्यवस्था (हाइसी सेल्स) को माग गरिरहेका थियौं, राष्ट्र बैंकले यो बाटो खोलेर राम्रो काम गर्यो, यो स्वागतयोग्य कुरा हो,’ बरिष्ठ उपाध्यक्ष गोल्छाले क्लिकमाण्डूसँग भने ।

यस्तो ब्यवस्थाले नेपाली ब्यापार डाइनामिक हुने उनको भनाइ छ । नेपाली ब्यापारीले अन्तराष्ट्रिय बजारमा हुने मूल्यको उतारचढाबको फाइदा अन्तराष्ट्रिय रुपमै लिन सक्ने भएकोले यस्तो ब्यवस्था राम्रो भएको गोल्छाले प्रतिक्रिया दिए ।

‘अन्तराष्ट्रिय बजारमा कच्चा तेल, स्टील जस्ता बस्तुको मूल्यमा उतारचढाब आइरहेको हुन्छ, नेपाली ब्यापारीले अन्तराष्ट्रिय बजारमा किनेको बस्तु अर्काे बजारमा पाइने मूल्य अन्तरको फाइदा लिएर बेच्न सक्ने भएकोले हामीले यस्तो ब्यवस्थाको माग गरेका थियौं,’ गोल्छाले भने ।

यसअघि अन्तराष्ट्रिय बजारमा नेपाली ब्यापारीले किनेको सामान बेच्न पाउने ब्यवस्था थिएन । उनीहरुले सोझै नेपाल ल्याउनु पर्ने हुन्थ्यो ।

तर, यो ब्यवस्था अन्तरगत प्रतीतपत्र खोल्दा केही शर्त भने पूरा गर्नुपर्न हुन्छ । राष्ट्र बैंकले यसको लागि प्रतीतपत्र सम्बन्धी विद्यमान ब्यवस्था तथा अन्तराष्ट्रिय प्रचलनको पालना गर्नुपर्ने, प्रतीतपत्र खोल्नु अघि विदेशबाट अग्रीम रुपमा नेपाली बैंकमा विदेशी मुद्रा प्राप्त भएको हुनुपर्ने र प्रतीतपत्र खोल्दा प्राप्त रकम ननाघ्ने गरी खोल्नुपर्ने शर्त तोकेको छ ।

यस्तै नेपालको प्रचलित कानुनले कारोबार गर्न निषेध नगरेको मालबस्तुको मात्र कारोबार गर्नुपर्ने र मुद्रा निर्मलीकरण सम्बन्ध ब्यवस्थाहरुको पालना गरेको हुनुपर्ने राष्ट्र बैंकको शर्त छ ।


क्लिकमान्डु