असोज १२ देखि सुपथ मूल्य पसल सञ्चालन हुँदै, सबै खुद्रा पसलले सस्तोमा सामान बेच्नु पर्ने



काठमाडौें । यसवर्षको दशैंका अवसरमा सबै खाद्य खुद्रा पसलहरुले सुपथ मूल्यमा सामान बेच्नु पर्ने भएको छ । उपभोक्ताहरुले पनि सबै खुद्रा पसलहरुबाट सुपथ मूल्यमा सामान खरिद गर्न पाउने भएका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैँ पर्वलाई मध्य नजर गर्दै खुद्रा पसलहरुमा पनि सूलभ मूल्यको व्यवस्था ल्याउने भएपछि उपभोक्ताहरुलाई राहत हुने भएको छ ।

विभागले साल्ट ट्रेडिङ, साद्य संस्था, दुग्ध विकास संस्थान र नेपाल ट्रेडिङसँग मिलेर एकिकृत रुपमा खुद्रा पसलमा पनि सूलभ मूल्यको व्यवस्था गर्न लागेको हो । यसका साथै संस्थानहरुले पनि छुट्टा छुट्टै सूपथ मूल्य पसल सञ्चालनमा ल्याउने योजना रहेको छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार निजी क्षेत्रमा समेत सूपथ मूल्यको प्रावधान लागू गराउन व्यवसायीहरुसँग छलफल अघि बढाइएको छ । ‘आम उपभोक्ताको हितका लागि केही मूल्यमा सहुलियत दिने गरी व्यवसायीहरुसँग मिलेर काम गर्न लागेका छौँ,’ गौचनले भने ।

उद्योगीहरुलाई आपूर्ति विभागमा बोलाएर अरु बेला भन्दा केही छुट दिनका लागि आव्हान गर्न लागिएको उनले बताए ।

‘बजारको प्रचलित दरभन्दा केही छुट दिनु पर्यो, वाणिज्य विभागले तोकेको केही खुद्रा पसलदेखि सहकारी पसलहरुमा पनि सुपथ मूल्य सञ्चालनमा ल्याउने योजनामा रहेका छौँ,’ गौचनले भने ।

सुपथ मूल्य योजना दशैँदेखि छटपर्वसम्म सञ्चालनमा आउने छन् । असोज १२ गतेदेखि कार्तिक २७ गतेसम्म सञ्चालन हुने सूलभ मूल्य पसलहरुमा अन्य समयमा भन्दा कम मूल्यमा सामानहरु बिक्री गर्न आव्हान गरिने विभागले जानकारी दिएको छ ।

सुपथ मूल्य पसल सञ्चालनका लागि वाणिज्य विभागले स्टेक होल्डर मिटिङ राख्न लागेको गौचनले बताए ।

मिटिङमा बृहत् कार्य योजना बनाउन छलफल हुने उनको भनाई छ । उनका अनुसार कार्य योजना बनाएर निजी क्षेत्रलाई समेत सुपथ मूल्य पसल सञ्चालनका लागि आव्हान गरिनेछ ।

सुपथ मूल्य योजना उपत्यका भित्र र बाहिर सबैतिर सञ्चालनमा आउने उनले जानकारी दिए ।

उनले चार्डपर्व नजिक आएको भन्दै अनुगमनलाई तीब्र बनाइएको समेत बताए । अनुगमनका क्रममा केहि दिन अघि नौबिसे धादिङ नाकामा मरेका चौपाया सार्वजनिक सवारीमा हालेर ल्याएको पाइएको बताए । उनीहरुलाई २४ घण्टा भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको उनको भनाई छ ।

यस्तै साल्ट ट्रेडिङले नेपाल भर ३८ स्थानमा सूपथ मूल्यका पसल सञ्चालनमा गर्ने भएको छ । कालिमाटी, भक्तपुर, बनेपा, टेकु लगायतका विभिन्न स्थानमा सूपथ मूल्यका पसलहरु सञ्चालनमा ल्याउन लागिएको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए ।


क्लिकमान्डु