यस्तो पनि गाउँपालिका, जहाँका जनतालाई यी २६ सिफारिशमा कुनै शुल्क लाग्दैन



काठमाडौं । देशभर नै करका कारण नागरिक प्रताडित भएको भन्दै गुनासो आएको छ । केही स्थानीय तहले अनावश्यक र अचाक्ली कर समेत लगाएका छन् ।

तर केही स्थानीय तह यस्ता पनि छन्, जसले नागरिकलाई निःशुल्क रुपमा सेवा तथा सुविधा दिएका छन् । ती मध्येको एक हो सुनसरीको कोशी गाउँपालिका ।

स्थानीय तह जनताको सेवाका लागि भन्दै सो गाँउपालिकाले विभिन्न २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ ।

गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए ।

गाउँपालिकाले मोही नामसारी तथा मोही बाँडफाँट सिफारिश, निवेदन दस्तुर, कच्ची घर प्रमाणित, बसोबास प्रमाणित, नाम थर उमेरलगायत संशोधन, टिनको छाना भएको कच्ची घर कायम सिफारिश, तीनपुस्ते खुल्ने सिफारिशलगायतका सिफारिश निःशुल्क गरेको छ ।

त्यसैगरी नागरिकता प्रमाणपत्र सिफारिश, नागरिकता सर्जमीन, नागरिकताको प्रतिलिपि सिफारिश, अङ्गीकृत नागरिकता सिफारिश, वैवाहिक अङ्गीकृत, विवाह प्रमाणपत्र, जन्म प्रमाणित, मृत्यु प्रमाणित, बसाइँसराइ प्रमाणित, अविवाहित प्रमाणित निःशुल्क गरेको छ ।

यस्तै चारित्रिक एवं सूचीकृत वर्ग सिफारिश कोशी गाउँपालिकामा स्थायी बसोबास नभएको हकमा, कृषिसम्बन्धी सिफारिश बोरिङ गर्नेसमेत, व्यवसाय बन्द गर्ने सिफारिश, नाता प्रमाणित नेपालीमा, नाता प्रमाणित अङ्ग्रेजीमा, नम्बरी जग्गाको रुख काट्ने सिफारिश, विद्युत् सिफारिशलगायतका सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ ।

‘अन्यत्र विरोध नारा, जुलुश के के भएका छन् भन्ने सुनेको छु, हाम्रोमा नागरिक खुसी छन्’ कोशी गाँउपालिका काप्रमुख अन्सारीले बताए ।


पुष्प दुलाल