महासंघ अध्यक्ष राणाले भनिन्–साना व्यवसायीको विकासका लागि नीतिगत सुधार आवश्यक



काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनयन भएकोमा सम्मानित भएकी छिन् ।

साना तथा मझौला व्यवसायी महासंघद्धारा आज नेउवामहासंघ सचिवालयमा एक कार्यक्रम बीच उनलाई बधाईसहित सम्मान पत्र प्रदान गरिएको हो ।

साना तथा मझौला व्यवसायी महासंघका पदाधिकारी सहित सदस्यहरु र साना मझौला उद्यमी व्यवसायीहरुको सहभागितामा आयोजित कार्यक्रममा त्यस महासंघका अध्यक्ष बाबुकाजी महर्जनले बधाई पत्र प्रदान गरे ।

उनले निजीक्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको मुलुकको आर्थिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका रहेको र आफ्नो संस्थाले महासंघसंग नजिकमा रहेर सहकार्य गर्न इच्छुक रहेको धारणा राखेका थिए ।

सो कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष राणाले मुलुकको अर्थतन्त्रमा साना मझौला उद्यम व्यवसायको निकै ठूलो हिस्सा रहेकाले यस क्षेत्रको विकासका लागि नीतिगत सुधार सहित आवश्यक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारीले नेपालमा साना मझौला उद्यम व्यवसाय सम्बन्धी विद्यमान अवस्था चुनौती तथा संभावना समेटिएको विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए ।


क्लिकमान्डु