सुधिर बस्नेतले कोहिनुरको हाउजिङ लिनेलाई कागज बुझाउन माग गरे



काठमाडौं । सुधिर बस्नेतले कोहिनुरको हाउजिङ लिनेलाई कागज बुझाउन माग गरेका छन् । भेगाससिटी अपार्टमेन्टको विगतको अधुरो काम हाल सुचारु गरिएको भन्दै बस्नेतले सूचना जारी गरेका हुन् ।

उनले बिगतमा अपार्टमेन्ट कानून बमोजिम खरिद गरेका बुकिङकर्ताहरुलाई काम सम्पन गरी यथाशिघ्र हस्तान्तरण गर्ने सूचनामा उल्लेख गरिएको छ ।

समस्याग्रस्त सहकारी संस्था तथा संघको व्यवस्थापन समितिको कार्यालयको विशेष पहलमा अपार्टमेन्टका सञ्चालक, बुकिङकर्ताका प्रतिनिधि र ओरियण्टल आधिकारिक प्रतिनिधिहरुका बीच २०७५ असार २६ गते त्रिपक्षीय सहमति भएको थियो ।

उनले सूचनामा विगतमा कम्पनी समस्यामा परेको मौका छोपी केही व्यक्ति तथा संघ, संस्थाहरुले कम्पनी सञ्चालक तथा कर्मचारी उपर हुल जम्मा गरेर जबरजस्ती समेत गरेको आरोप लगाएका छन् ।

असार २६ गते भएको छलफलमा भेगाससिटीमा अपार्टमेन्ट बुकिङ गरेका आधिकारिक व्यक्तिहरुको पहिचान गरी निर्माण सम्पन्न पश्चात अपार्टमेन्ट हस्तान्तरण गरी बाँकी हुन आउने अपार्टमेन्टबाट बैंकको कर्जा चुक्ता गर्ने बताइएको छ ।

बाँकी सम्पूर्ण अपार्टमेन्टबाट ओरियण्टल को–अपरेटिभका पिडितहरुको निक्षेप फिर्ता हुने सहमति भएको भन्दै विगतमा कोहिनुर हिल हाउजिङ कम्पनीसँग कुनै जोर जवरजस्ती नगरी सहमतिका आधारमा अपार्टमेन्ट बुकिङ गरेका व्यक्तिहरुको समेत पहिचान गर्नु पर्ने भएको जानकारी दिइएको छ ।

उनले कम्पनी समस्यामा परेको बेला दोहोर नाफा लिने नियतले भेगाससिटीमा जबरजस्ती कागज गर्न बाध्य पारी फ्ल्याट आफ्नो अधिनमा लिएको दाबी गरेका छन् ।

उनले कम्पनीसँग विगतमा कानून बमोजिम सहमतीय आधारमा बुकिङ गरेका व्यक्तिहरुलाई पहिचान तथा समस्या समाधानका लागि आवश्यक प्रमाणपत्र संकलन गरी कागज पत्र बुझाउन आव्हान गरेका छन् ।

उनले भेगाससिटीमा अपार्टमेन्ट किनेका व्यक्तिहरुले बुकिङ गर्दाको समयको चेक वा नगद केबाट भुक्तानी भएको हो ? चेक भुक्तानी भएको भए कुन बैंकबाट चेक भुक्तानी गरिएको हो ? नगद भए कुन बैंकबाट के कसरी प्राप्त भएको हो ? को–कसलाई रकम बुझाइएको हो ? लगायतका प्रमाण पत्र माग गरेका छन् ।

साथै, बुकिङको लागि भुक्तानी भएको नगद रकम नेपाल सरकारलाई मान्य हुने श्रोत सहित खुल्ने कागजात समेत संकलन गरी कम्पनीको भेगाससिटीको ई–बिलडिङमा रहेको पेश गर्न आव्हान गरेका छन् । अपार्टमेन्ट खरिदकर्ताहरुले यही साउन २० गतेभित्र प्रमाण सहित सम्पर्क गर्न जानकारी पनि बस्नेतले दिएका छन् ।


क्लिकमान्डु