आज राती शताब्दीकै लामो खग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो फल



काठमाडौं । असार शुक्ल पूर्णिमाका दिन अर्थात् आज शुक्रबार राती शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।

शुक्रबार राती १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गरेर २ बजेर ५८ मिनेटमा समाप्त हुनेछ । कूल ३ घण्टा ५७ मिनेट ग्रहण रहनेछ ।

चन्द्रग्रहणले स्पर्श हुनुभन्दा ९ घण्टाअघि देखि बाल, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ । ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र लिने, मन्त्र सिद्धि गर्ने, दान गर्नेलगायत धार्मिक काम गर्न शुभ मानिन्छ ।

ग्रहण लागेका बेला सुत्न, दिसा, पिसाब, मैथुन गर्न नहुने जानकारहरुले बताएका छन् ।

पूर्णिमा तिथिका दिन सूर्य, चन्द्रमा र पृथ्वी एउटा सरल रेखामा पर्दा सूर्य र चन्द्रमा १८० डिग्रीमा पर्न जान्छ ।

त्यसबेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्छ । त्यस्तो अवस्थामा पृथ्वीको छायाँले चन्द्रमा ढाकिन्छ । पृथ्वी ठूलो भएकाले छायाँले चन्द्रमा पूरै ढाकिने भएकाले प्रायः खग्रास चन्द्रग्रहण लाग्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कुन राशीलाई के फाइदा

चन्द्रग्रहणमा विभिन्न राशि भएका मानिसलाई फरक फरक फल दिने पञ्चाङ्गमा उल्लेख छ । मेष राशि भएकालाई सुख, वृषलाई माननाश, मिथुनलाई कष्ट, कर्कट स्त्री पीडा, सिंह सुख, कन्या चिन्ता, तुला व्यथा, वृश्चिक स्त्री प्राप्ति, धनु क्षति, मकर घात, कुम्भ व्यय र मीन राशि भएका मानिसलाई लाभ मिल्नेछ ।

यस आधारमा आज रातीको चन्द्रग्रहण मेष, सिंह, वृश्चिक र मीन राशि भएकाले हेर्नु हुने समितिका सदस्यसचिव ढुंगेलले बताउनुभयो । अन्य आठ राशि भएकाले हेर्न नहुने समितिको ठहर छ ।

मौसम सफा भएका स्थानमा खग्रास चन्द्रग्रहण देख्न सकिने जनाइएको छ । शुक्रबार राति करीब एक घण्टा ४३ मिनेटसम्म लाग्ने खग्रास चन्द्रग्रहण अंग्रेजी पात्रोअनुसार एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

ग्रहणको समयमा देखिने गाढा रातो रंगको चन्द्रमाको दृश्य खगोल तथा अन्तरिक्ष विज्ञानमा रुचि राख्ने सबैका लागि एक अभूतपूर्व अनुभव हुने बताइन्छ ।


क्लिकमान्डु