बैंकहरुले १३ प्रतिशतले निक्षेप बढाउँदा २० प्रतिशतले कर्जा बढाए




काठमाडौं । चालु आर्थिक बर्षभरी जस्तो नै बैंकिङ क्षेत्रमा तरलता अभावको अबस्था रह्यो । यस्तो हुनको प्रमुख कारण बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहको बृद्धिदर बढी भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो निक्षेप १०.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

गत जेठमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३४.५ प्रतिशत र ४५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३५.८ प्रतिशत र ४३.४ प्रतिशत रहेको थियो ।

गत जेठमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४४.२ प्रतिशत रहेको थियो ।

यस्तै गत जेठसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १९.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.१ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १९.९ प्रतिशत, विकास बैंकहरुको २०.६ प्रतिशत र वित्त कम्पनीहरुको १४.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ जेठमा मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २१.० प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।

गत जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७४ जेठमा मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.१ प्रतिशत र १३.९ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिप्ट (आयात) कर्जा ८३.३ प्रतिशत (रु.५३ अर्ब ७४ करोड) ले वृद्धि भई १ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.८ प्रतिशतले घटेको थियो ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा १२.८ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा १३.३ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १५.० प्रतिशतले बढेको छ ।


क्लिकमान्डु