विश्वकप फुटबलको फाइनल पुगेका दुई देशसँग नेपालको व्यापारः फ्रान्ससँग घाटा क्रोएसियासँग नाफा



काठमाडौं । आज विश्वकप फुटबल २०१८ को फाइनल खेल हुँदैछ । फाइनलमा क्रोएसिया र फ्रान्स भिड्दै छन् । फाइलन खेल निकै रोमाञ्चक हुने भन्दै यसको प्रतीक्षा भइरहेको छ ।

विश्वकप फुटबलमा फाइनल खेल्न लागेका यी दुई राष्ट्रसँग नेपालको ब्यावसायिक अवस्थाका बारेमा चर्चा गर्ने प्रयास गरेका छौं ।

क्रोएसिया र फ्रान्स दुबै देशसँग नेपालले व्यवसायिक कारोबार गर्दै आएको छ । नेपालले क्रोएसियासँग नाफा कै व्यापार गर्दै आएको छ भने फ्रान्ससँग घाटाको व्यापारमा रहेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले यो आर्थिक वर्षको ११ महिनामा क्रोएसियाबाट ४९ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ । सो अवधिमा नेपालले ९४ लाख रुपैयाँ बराबरको सामान क्रोएसियामा निर्यात गरेको छ ।

गत आर्थिक वर्षको ११ महिनामा नेपालले क्रोएसियाबाट ७९ लाख १२ हजार रुपैयाँ बराबरको सामान आयात गरेको थियो भने १ करोड १४ लाख रुपैयाँको सामान निर्यात पनि गरेको थियो ।

यस्तै, यो आर्थिक वर्षको ११ महिनामा फ्रान्सबाट नेपालले ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ भने फ्रान्समा १ अर्ब ५ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ ।

गत वर्षको ११ महिनामा नेपालले फ्रान्सबाट १३ अर्ब २० करोड बराबरको सामाग्री नेपाल आयात गरेको थियो भने १ अर्ब ५ करोड बराबरको सामाग्री निर्यात गरेको थियो ।

क्रोएसियाबाट के आउँछ, क्रोएसियामा के जान्छ ?

क्रोएसियाबाट नेपालले यो आर्थिक वर्षको ११ महिनामा जुत्ता चप्पल, औषधी, पार्लर तथा कुर्सी टेबल निर्माणका सामाग्री आयात गरेको छ । नेपालबाट कपडा, ब्याग, चित्रकला, पत्रपत्रिका÷म्यागेजिन निर्यात हुने गरेको छ ।

फ्रान्सबाट के आउँछ, फ्रान्समा के जान्छ ?

यस्तै यो आर्थिक वर्षको ११ महिनामा नेपालले फ्रान्सबाट जुत्ता, चप्पल, सोल, डेन्टलमा प्रयोग हुने (ह्याट्सा, हेड्गियरस्, सेफटी हेडगियरस्)्, वीग, पाउडर, सेनिटराइज फिक्सरका सामान, ट्वाइलेटमा प्रयोग हुने सामाग्री, सेफ्टी ग्लास, गाडीका सिसा, गाडीमा प्रयोग हुने ऐना, पानी खाने ग्लास, गुल्स प्रजातीका जिउँदा कुखुरा, सुँगुरको मासु, दूधका क्रिम तथा पाउडर, चिज, गहुँ, जडिबुटिका बिरुवा, तरकारीका बिरुवा, ससेज, चिनी, सुजरफ्री चकलेट लगायतका सामाग्रीहरु आयात गर्ने गरेको छ ।

नेपालबाट प्याज, च्याउ, कफी, ग्रीन टी, व्लाक टी, सुकुमेल, अदुवा, बेसार, बोटबिरुवा, चिनी, पानी, वियर, तेल, अगरबत्ति, हाते झोला, काठका विभिन्न सामाग्री, नेपाली कागज, हस्तकलाका सामाग्री, पर्स, फाइल राख्ने बक्स, फोटो एल्बम, पत्रपत्रिका÷म्यागेजिन, कार्पेट, धागो, कपडा जस्ता सामाग्री फ्रान्समा निर्यात हुने गरेको छ ।


क्लिकमान्डु