झापाको बिर्तामोडमा सञ्चालित २ म्यानपावरमा पुलिसको  छापा



काठमाडौं । झापाको बिर्तामोडमा सञ्चालित २ वटा मेनपावारमा छापा मारिएको छ । जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा प्रहरी प्रशासनसहितको अनुगमनमा अवैधानिक रुपमा सञ्चालित २ मेनपावरमा शिलबन्दी गरिएको हो ।
पहिलो चरण अन्तर्गत अनुगमनमा बिर्तामोडका दिपक खड्काले सञ्चालन गरेको एमडी ओभर्सीज तथा पुण्य खरेलले सञ्चालन गर्दै आएको सञ्चालित कोशी इनटरनेश्नल ओभर्सीजमा शिलबन्दी गरिएको छ ।
कार्यालयको बोर्डबाहेक केही पनि कागजपत्र नपाइएपछि शिलबन्दी गरिएको प्रहरीले जनाएको छ । अनुगमन टोली बिर्तामोड बिनायक होटल उत्तरतर्फको गल्लीमा पुगेसँगै खैलाबैला मच्चिएको थियो । उक्त गल्लीमा आधा दर्जनभन्दा बढी मेनपावर कार्यालयहरु छन् ।
गैरकानुनी ढंगले ठूलो संख्यामा मेनपावर व्यवसाय सञ्चालनमा रहेको गुनासो आएपछि अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए । जिल्ला समन्वय समिति अन्तर्गत रहेको जिल्ला सुरक्षित आप्रावासन समितिको बैठकको निर्णयअनुसार अनुगमन गरिएको उनले बताए ।
‘वैदेशिक रोजगारीसम्बन्धी ठगी र उजुरीहरु अत्यन्तै पीडादायक देखियो,’ सुरक्षित आप्रवासन सामी परियोजना झापाका कार्यक्रम संयोजक हरिप्रसाद मैनालीले भने, ‘को कानुनसम्मत छ, को गैरकानुनी छ, त्यति मात्रै हेर्ने निर्णय गरेर निस्किएका थियौँ, त्यसक्रममा दुईवटा चाहिँ गलत भेट्टाएर स्थानीय तहले तालाबन्दी नै गर्नुपर्यो ।’
जिसस प्रमुख पोर्तेलका अनुसार झापामा ४० वटा मेनपावारका एजेण्ट तथा १२ वटा शाखा कार्यालयहरु अनुमती लिएर सञ्चालनमा रहेका छन् । वैधानीक तरिकाले सञ्चालित एजेण्ट तथा शाखाहरुले कानुनी प्रक्रिया पुर्याए काम गरे÷नगरेको अनुगमन गरेर कारवाही गरिने पोर्तेलले जानकारी दिए ।
जिसस प्रमुख पोर्तेलसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, बिर्तामोडकी उपमेयर पवित्रा महतारा प्रसाई, बिर्तामोड(१ का वडाध्यक्ष अग्नि पाण्डे, प्रहरी प्रशासन, सञ्चारकर्मी लगायतको रोहवरमा अनुगमन गरिएको थियो ।


पुष्प दुलाल