भूमि व्यवस्था मन्त्री खनालले गरे मालपोत कार्यालय अनुगमन, दिए १४ बुँदे निर्देशन



काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आज कलंकी स्थित मालपोत कार्यालयको अनुगमन गरेका छन् ।

मालपोत कार्यालयमा पस्ना साथ सेवाग्राहीका गुनासा सुनेपछि मन्त्री खनालले १४ बुँदे निर्देशन दिए ।

मन्त्री खनालले कार्यालयका कर्मचारीहरुलाई फटाफट काम किन भएन, यति धेरै मान्छेका चाप किन भयो ? अव्यवस्थित किन ? भन्दै अनेकौँ प्रश्न गरे ।

‘एक जना सेवाग्राहीका पछि किन यति धेरै मान्छे लागेका छन् ? सेवाग्राहीले आफै फर्म भर्न पाउने गरी सजिलो व्यवस्था के गर्न सकिन्छ ? मालपोत र नापीप्रति देशभरका जनतामा नकारात्मक छाप छ भन्ने भुल्न भएन,’ खनालले कर्मचारीहरुलाई प्रश्न गर्दै भने ।

अव्यवस्थित मालपोतको व्यवस्था हेर्दै भने ‘यो भ्रष्टाचारको अखडा हो, त्यहाँ कहिले पनि शुद्ध हुन्न भन्ने कुरालाई निमिट्यान्न पार्नु पर्छ । मैले यो मन्त्रालय सम्हालिसकेपछि मालपोत र नापीबाट मात्र निलम्बित र्कचारीको संख्या ७० नाघेको छ, मैले हेरिरहेको छु ।’

यस्तै खनालले यी समग्र विषयमा सुधार ल्याउन कर्मचारीलाई के गर्नु पर्छ, सुझाव दिन निर्देशन दिएका छन् ।

अनुगमनमा मन्त्रीसँगै राज्यमन्त्री रामकुमारी चौधरी, सचिव गोपीनाथ मैनाली सहित मन्त्रालयको टोलीको उपस्थिति रहेको थियो ।

मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत नविनकिशोर अधिकारीले सकेसम्म सेवाग्राहीलाई समस्या नपरोस र छिटो काम होस् भनेर काम गरिरहेका बताए ।


क्लिकमान्डु