कम्युनिष्ट लोकतन्त्रवादी र बाघ शाकाहारी कहिल्यै हुँदैन : देउवा



काठमाण्डौ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आजदेखि मकवानपुर जिल्लाको हेटौंडामा शुरु भएको छ ।

पार्टी संगठन, बिधान र समसामयिक मुद्दाबारे छलफल गर्ने र ठोस् निश्कर्ष निकाल्ने उद्देश्यले भेला आयोजना गरेको बताइएको छ ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, ७७ जिल्लाका काँग्रेस सभापतिहरु र पर्यबेक्षक गरी ५ सय ७५ जनाको सहभागिता रहेको राष्ट्रिय भेला केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहका बीच उद्घाटन गरेका छन् ।

सभापति देउवाले पार्टीका नेता रामचन्द्र पौडेललाई बरिष्ठ नेताको रुपमा संबोधन गर्दै उद्घाटन मन्तव्य शुरु गरेका थिए । पार्टी निर्माण र बिस्तार गर्नका लागि ऐतिहासिक भूमिका निर्वाह गर्ने महामानव बी.पी. कोईराला, सुवर्ण शमशेर, गणेशमान सिंह, गिरिजाप्रसाल कोइराला, कृष्णप्रसाद भट्टराई लगायत सबै नेताहरुलाई कार्यक्रमको शुरु मै उनले स्मरण गरेका थिए ।

सभापति देउवाले कम्युनिष्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुन नसक्ने बताउँदै कम्युनिष्ट लोकतन्त्रवादी हुन सक्दछन् भन्ने भ्रम बाघ शाकाहारी हुन्छ भन्ने जत्तिकै हो । उनले भने– ‘गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेका छन्, मूल्य बृद्धिले जनता आक्रान्त छन् । ’

वर्तमान सरकारप्रति कटाक्ष गर्दै उनले भने– ‘वर्तमान सरकारको व्यवहार भाषणमा संघीयता र काममा कम्युनिष्टको जनवादी केन्द्रीयता तर्फ उन्मुख छ । यस अवस्थामा संविधानको संरक्षण गर्ने, देशलाई कम्युनिष्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारीपनि आफ्नै काँधमा आएको छ ।’

सभापति देउवाले सो अवसरमा पछिल्लो निर्वाचनमा काँग्रेसको पराजयलाई दुईटा ठूला कम्यूनिष्ट पार्टीहरुको चुनावी गठबन्धन नै प्रमुख कारणको रुपमा औल्याएका थिए । तर, पार्टीप्रति जनताको विश्वास कायम रहेको जिकिर गर्दैै उनले भने– ‘कांग्रेसले पहिलेका निर्वाचनहरुमा प्राप्त गरेको मत प्रतिशत यथावत नै रहेको र लोकप्रिय जनमत कांग्रेसको पक्षमा नै रहेको देखिन्छ ।’

एमाले र माओवादीको गठबन्धनको सम्भावनालाई पनि अनुमान नगरिएको होईन र स्थानीय तहको पहिलो चरणको निर्वाचनमा केहि स्थानमा माओवादीलाई सहयोग गर्ने नीति लिंदा पार्टी भित्र र बाहिरबाट केहि जटिलता समेत देखा परेका हुन् । उनले जोड दिएर भने– ‘ठाउँ ठाउँमा अन्तरघात भएका गुनासाहरु पनि आएका छन् । अन्तरघात समेतका कारण पराजय व्यहोर्नु पर्यो–उनले बताए ।’

अहिलेका सत्ताधारी पार्टीका नेताहरुले स्थानीय, प्रदेश र संघीय निर्वाचन हुनै नसक्ने बताएका थिए, तर काँग्रेस कै बलमा निर्वाचन सम्पन्न गराएर ऐतिहासिक दायित्व निर्वाह गरेको कुरामा सभापति देउवाले जोड दिएका थिए । उनले भने– ‘वर्तमान प्रधानमन्त्री केपी ओलीजीले निर्वाचन कुनै हालतमा हुन नसक्ने भनि पटक–पटक सार्वजनिक अभिव्यक्ति दिएको म अहिले पनि सम्झी रहेको छु ।’

विभिन्न तहका निर्वाचनमा पार्टीले व्यहोरेको पराजयप्रति अत्यन्त चिन्तित भाव प्रस्तु्त गर्नु भएका देउवाले कार्यक्रममा उपस्थित सबै सामु आत्मविश्वासका साथ भने–‘हामीले एउटा लडाई हारेका छौ, मैदान हारेका छैनौ । यस अर्थमा हाम्रो बिचारले जितेको छ । तसर्थ, म साथीहरुलाई कमजोर मानसिकता होईन, उच्च मनोबलका साथ अगाडि बढ्न आव्हान गर्दछु ।’

‘कांग्रेसले सबै ठाउमा जिम्मेवार तथा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्छ । एकताबद्ध, संगठित र व्यवस्थित कांग्रेसलेनै यी जिम्मेवारी बहन गर्न सक्दछ । यस बारेमा म स्वयं गम्भीर छु र सबै नेता साथीहरुलाई गम्भीर हुन आग्रह गर्दछु’– देउवाले बताए ।

‘संविधानले राज्यको शासकिय प्रबन्धमा परिवर्तन गरेको छ । संघीयताका आधारमा नयां संरचनाहरु बनेका छन । त्यस अनुरुप पार्टीका संरचना तयार गर्नु पर्नेछ । पार्टीको बिधानमा अन्य समसामयिक परिवर्तन गर्न आवश्यक छ । पार्टी विधान संशोधनको विषयपनि यस भेलाको एजेण्डको रुपमा रहेको छ’– उनले संबोधनका क्रममा बताए ।

संबोधनको अन्त्यमा देउवाले आफू विचलित नभएको बताउँदै भने–‘आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी स्थापित गर्ने प्रण गर्दछु ।’


क्लिकमान्डु