कार्यान्वयनमा आउला यातायात व्यवस्था विभागको अध्ययन प्रतिवेदन ?



काठमाडौं । यातायात व्यवस्था विभागले प्रदेश १ को १६ वठा राजमार्ग तथा सहायक सडकको रुट अध्ययन सकेको छ ।

४० वर्षदेखि सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यको घोषणा लगतै सरकारले रुट अध्ययन थालेको थियो । सो अध्ययन प्रतिवेदनमा कुन रुटमा कस्तो सवारी चल्न सक्नेपनि उल्लेख छ ।

विभागले गरेको अध्ययनमा सडकको घुम्ती, चौडाई, सवारी चालकले देख्न सक्ने दुरी र मौसम अनुसार कस्तो सवारी चल्न सक्ने भन्दै तीन समूहमा बर्गिकरण गरी रुट अध्ययन भएको छ ।

सबै प्रकारका सवारी चल्ने रुटलाई ए, लाइट सवारी चल्न सक्ने सडकलाई बी र जिप तथा चौडाई साना भएको सवारी चलाउन मिल्ने सडकलाई सी भनेर बर्गिकरण गरिएको छ ।

विभागले गरेको रुट अध्ययनमा अहिले तत्कालको अवस्थामा आवश्यक सवारी, सवारीको किसिम र यात्रुको आगमन हुन सक्ने संख्या समेत तय गरेको छ । साथै अध्ययनमा ५, १० र १५ वर्षपछिका लागि पनि आवश्यक सवारी, सवारीको किसिम र यात्रुको संख्यापनि अनुमान गरिएको छ ।

प्रदेश नम्बर १
विभागले गरेको रुट अध्ययनमा प्रदेश १ मा १६ वटा राजमार्ग तथा सहायक सडक पहिचान गरिएको छ ।

जसमा आठ÷आठ राजमार्ग तथा सहायक सडक छन् । फिदिम–ताप्लेजुङ, चारआली–फिकल, फिक्कल–इलाम, इलाम–फिदिम, इटहरी–धरान, धरान–हिले, लेगुवा–भोजपुर–दिक्तेल, हिले–लेगुवालाई राजमार्गमा समावेश गरेको छ । यस्तै, सहायक सडक फिक्कल–पशुपतिनगर, बसन्तपुर–तेहथुम, हिले–बसन्तपुर, घुर्मी–ओखलढुङगा, कटारी–घुर्मी, ओखलढुङगा–सल्लेरी, मिर्चैया–कटारी, बसन्तपुर–चैनपुर–खादवारी समावेश गरिएको छ ।

आवश्यक सवारी
प्रदेश १ तत्कालको अवस्थामा २९ सय ६५ वटा ट्रक, दुई हजार ४ वटा बस र २७ सय २० वटा जिपको आवश्यक पर्न अध्ययन प्रतिवेदनमा उल्लेख छ । यसैगरी पाँचवर्षपछि प्रदेश नम्बर १ मा सात हजार आठ सय ८७ बस, ट्रक, जिप तथा माइक्रो आवश्यक पर्ने अध्ययन उल्लेख छ ।

यसैगरी, सन् २०२८ सम्ममा आइपुग्दा ८ हजार ६८ र सन् २०३३ सम्ममा पुग्दा ८ हजार दुई सय १५ सवारी आवश्यक पर्ने रुट अध्ययन रिर्पोटमा उल्लेख छ ।

यात्रु संख्या
विभागले गरेको रुट अध्ययन तत्कालको अवस्थमा सार्वजनिक सवारीका यात्रा गर्ने देखि १५ वर्षपछि यात्रा गर्ने अनुमानित यात्रुको संख्यापनि उल्लेख गरेको छ । प्रदेश नम्बर १ मा तत्कालको अवस्थामा एक लाख २२ हजार चार सय १२ यात्रुले राजमार्ग र सहायक रोडमा यात्रा गर्ने उल्लेख छ ।

यसैगरी, सन् २०२३ मा पुग्दा प्रदेश नम्बर १ मा एक लाख २२ हजार तीन सय, सन् २०२८ सम्ममा एक लाख २३ हजार पाँच सय ७७, सन् २०३३ मा आइपुग्दा एक लाख ३३ हजार पाँच सय ७७, यात्रुले सार्वजनिक यातायातमा यात्रा गर्ने रुट अध्ययन रिपोर्टमा उल्लेख छ ।

यसैगरी, विभागले विश्व बैंकको आर्थिक सहयोगमा प्रदेश १ लगायत २, ३, ४ र ५ नम्बर प्रदेशको ६२ वटा रुटको अध्ययन सकेको छ । विभागले गरेको रुट अध्ययनमा कुन रुटमा कति सवारीको आवश्यकता, कस्ता सवारी, यात्रुको संख्या, सडकको अवस्था सहित समावेश गरेको छ ।


क्लिकमान्डु