समयमा काम नगरे मेरो घरबेटीलाई पनि कारवाही हुन्छ : प्रचण्ड



चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समयमै काम नगर्ने ठेकेदार आफ्नै घरबेटी भए पनि कारबाही हुने बताएका छन्।

गृह जिल्ला चितवनमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिँदै उनले समयमा गुणस्तरीय काम नगर्ने ठेकेदारप्रति सरकारले कडाइ गर्नुपर्ने बताए।

ुघरबेटी र नघरबेटी भनेर यहाँ चर्चा गर्न आवश्यकै छैन। ठेकेदारहरूले समयमा गुणस्तरीय काम गर्नुपर्छ, यदि त्यहाँ लापरवाही छ भने सरकारले कडाइपूर्वक जानुपर्छ भन्ने कुरामा हामी कसैको पनि विमति छैन, उनले भने, ‘अब म जसको घरमा बसेको छु त्यो घरको मान्छेले पनि गल्ति गर्यो भने कारवाही हुन्छ। गल्ति गरेको छैन भने प्रोत्साहित हुन्छ।’

दाहालका घरबेटी शारदा प्रसाद अधिकारी हुन्। अहिले दाहाल उनको खुमलटारस्थित घरमा बस्छन्।

अधिकारीले काठमाडौं उपत्यकाभित्र नागढुंगा कलंकी सडकखण्ड लगायत धेरै भित्रि सडक निर्माणको ठेक्का लिएका छन्।

गृहमन्त्री रामबहादुर थापाले समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने भनेपछि अधिकारीको पनि नाम चर्चामा आएको हो।

अध्यक्ष दाहालले कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची नभएको बरु सुशासन, विकास र समृद्धि रहेको बताए ।

एउटै पार्टीका सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष हुनुहुन्न भन्ने विषयको अर्को प्रसङ्गमा उहाँले सभामुख, उपसभामुख हुनुभन्दा अघि उहाँहरु पार्टीमा रहे पनि अहिले कुनै पनि पार्टीमा नरहेको बताए ।

रासस


क्लिकमान्डु