सुधीर बस्नेतको रिहाईमा सहकारी पीडितको आपत्ती



काठमाडौं । सहकारीपीडित महिला हकहित अधिकार संरक्षण समितिले ओरेन्टल को–अपरेटिभ लिमिटेडका सञ्चालक सुधीर बस्नेतको रिहाइप्रति आपत्ति जनाएको छ ।

सहकारी निक्षेप ठगी आरोपमा विसं २०७३ पुस १३ गते धापासीस्थित घरबाट पक्राउ परेका बस्नेतलाई अदालतले जेल सजाय सुनाएपछि डिल्लीबजार कारागारमासजाय भोगिरहेकामा गत साता धरौटीमा रिहा गरिएको थियो ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कुन्तीदेवी पोखरेलले करीब ११ हजारभन्दा बढी निक्षेपकर्ताको ४ अर्ब बराबरको साँवा तथा ब्याज फिर्ता गर्न नसकेका सञ्चालक बस्नेतलाई गरिएको रिहाइले पीडितको भावनामा चोट पुगेको बताइन् ।

उनले उक्त कम्पनीको अचल सम्पतिलाई सरकारले लिलाम गरी बचतकर्तालाई वैज्ञानिक ढंगबाट निक्षेप वितरण गर्नुपर्नेमा जोड दिँदै मुुलुकमा विधि र कानूनको शासन कायम गर्न बस्नेतको पुनः गिरफ्तारीको माग गरिन् ।

काठमाडौँ महानगरपालिका–३३ मैतीदेवीमा प्रधान कार्यालय स्थापना गरेको उक्त कम्पनी विसं २०५३ मा दर्ता भई देशको प्रमुख शहरहरुमा १३ वटा शाखा विस्तार गरेको थियो । कम्पनीले वित्तीय अनुशासन अवलम्बन नगरेका कारण आर्थिक असन्तुलन भएर विसं २०६९ देखि संस्था बन्द थियो ।

समितिले गृहमन्त्री रामबहादुर थापालाई गत शुक्रबार भेट गरी सो विषयमा ओरेन्टल पीडितका तर्फबाट ध्यानाकर्षणसमेत गराएको थियो । रासस


क्लिकमान्डु