स्मार्ट लाइसेन्स: अब राजधानी मात्रै होइन, इलामदेखि डडेल्धुरासम्म सेवा




काठमाडौं । स्मार्ट लाइसेन्स नविकरणको लागि राजधानी काठमाडौं धाउने दिन अब इतिहास बन्दैछ । यातायात ब्यवस्था विभागले काठमाडौं बाहिरका सेवा कार्यालयहरु मार्फत पनि यस्तो सेवा दिने तयारी गरेको छ ।

विभागले केही दिन अगाडिदेखि पूर्वको विराटनगरबाट स्मार्ट लाइसेन्स दिन सुरु गरिसकेको छ । चालु आर्थिक बर्षमा नै थप ५ ठाउँबाट स्मार्ट लाइसेन्स नविकरणको सेवा सुरु गर्ने तयारी गरिएको विभागले जानकारी दिएको छ ।

विभागले अहिले देशभरका ३० सेवा कार्यालयहरु मार्फत सवारी जाँचपासदेखि अन्य सेवा दिदै आएकोमा स्मार्ट लाइसेन्स नविकरणको सेवा पनि सुरु गर्न लागिएको विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए ।

‘चालु आर्थिक बर्षमा थप ६ सेवा कार्यालयहरुबाट स्मार्ट लाइसेन्स नविकरणको सेवा दिने योजना थियो, यसमध्ये विराटनगरबाट सेवा सुरु गरिसकिएको छ, अब इलाम, बर्दिवास, भरतपूर, सूर्खेत र डडेल्धुराबाट पनि यस्तो सेवा प्रवाह गर्ने योजना छ,’ प्रवक्ता अर्यालले क्लिकमाण्डूसँग भने ।

यसअघि विभागले काठमाडौंबाट मात्रै स्मार्ट लाइसेन्स नविकरणको सेवा दिदै आएको थियो । अहिले प्रयोगमा रहेका पुरानो प्रणालीका लाइसेन्सको म्याद समाप्त भएपछि अनिवार्य रुपमा स्मार्ट लाइसेन्स लिनुपर्ने ब्यवस्था विभागले गरेको छ । तर, यस्तो सेवा राजधानीमा मात्रै केन्द्रीत हुँदा उपत्यका बाहिरका लाइसेन्स वाहक राजधानी धाउनै पर्ने बाध्यतामा थिए ।


क्लिकमान्डु