प्रभु बैंकले सर्वसाधारणका लागि १ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?



काठमाडौं । प्रभु बैंकले सर्वसाधारणले किन्न मिल्ने गरी १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । व्यवसाय विस्तारका लागि पुँजी संकलन गर्ने उद्देश्यले ऋणपत्र निष्काशन गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।

बैंक सञ्चालक समितिले आगामी जेठ १० गते बस्ने बैंकको १२औं वार्षिक साधारणसभामा ऋणपत्र निष्काशनको प्रस्ताब प्रस्तु गर्ने तयारी गरेको शेरचनले बताए ।

‘बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) लगायतका समस्याले बैंकहरुलाई व्यवसाय विस्तार गर्न कठिन भइरहेको छ, त्यसैले हामीले व्यवसाय विस्तारका लागि ऋणपत्रलाई पुँजी संकलनको एउटा माध्यमकोरुपमा प्रयोग गर्न लागेका हौं,’ सीइओ शेरचनले क्लिकमाण्डूसँग भने ।

शेरचनका अनुसार सञ्चालक समितिको उक्त प्रस्ताब साधारणसभाबाट पारित भएपछि अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिइने छ । बोर्डले स्वीकृत दिएपछि मात्रै ऋणपत्र निष्काशन गरिने छ ।

‘हामी छिट्टै ऋणपत्र निष्काशन गर्न चाहन्छौं,’ उनले भने, ‘तर, सबै प्रक्रिया पूरा गरेर निष्काशन गर्नुपर्ने भएकाले यो आर्थिक वर्ष संभव नहोला ।’

आगामी आर्थिक वर्षको पहिलो वा दोस्रो महिना अर्थात् साउन÷भदौ सम्ममा बैंकले ऋणपत्र निष्काशन गर्ने उनको भनाइ थियो ।

कति पाइन्छ ब्याज ?

सीइओ शेरचनका अनुसार ऋणपत्रको मुद्दति निक्षेपको भन्दा बढी व्याज पाइनेछ । तर, अहिले नै कति व्याज दिने भन्ने विषयमा निर्णय भइसकेको भने छैन ।

‘ऋणपत्र निष्काशन गर्ने बेलाको अवस्था कस्तो रहन्छ सोहीअनुसार ब्याजदर निर्धारण गरिनेछ,’ उनले भने ।

ऋणपत्रमा लगानी गर्नेहरुले उच्चतम ब्याजदर पाउने भएकाले यसमा लगानी गर्नु लगानीकर्ताका लागि पनि हितकर छ ।

हाल बैंक चुक्ता पुँजी ८ अर्ब रुपैयाँ छ भने ८७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


पुष्प दुलाल