सरकारले तोकोकोभन्दा बढी शुल्क नलिनुः शिक्षामन्त्री




भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिएका छन् ।

भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्यालयले मनोमानी रुपमा शुल्क असुलेको गुनासो बढेको बताउँदै बढी शुल्क नअसुल्न विद्यालयलाई निर्देशन दिएका हुन् । विद्यालय शुल्क तत्काल अनुगमन गरेर शुल्क नियन्त्रण गर्न स्थानीय तहलाई उनले आग्रह गरे ।

मन्त्रालयले स्थानीय तहलाई तत्काल शुल्क वृद्धि नियन्त्रण गर्न आग्रह गरिसकेको उनले बताए ।

‘मनोमानी ढंगले विद्यालयले शुल्क वृद्धि गरेको गुनासो आएको छ, यसलाई तत्काल नियन्त्रण गर्नु जरुरी छ, स्थानीय तहलाई तत्काल शुल्क अनुगमन गरेर शुल्क वृद्धि नियन्त्रण गर्न म आग्रह गर्दछु,’ मन्त्री पोखरेलले भने ।

उनले शुल्क वृद्धि नियन्त्रण नगर्ने विद्यालयलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको बताए ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्यार्थीलाई लामबद्ध नराख्न विद्यालयलाई निर्देशन पनि दिए ।

‘स्कुलमा होस् वा गाउँमा विशिष्ट व्यक्ति आउँदा स्वागत गर्न विद्यार्थीलाई लामबद्ध राख्ने परम्परा बढ्दै गयो, यो गलत छ, म सबै विद्यालयलाई निर्देशन दिन्छु, अबदेखि विद्यालयलाई स्वागतमा लामबद्ध नराख्नुहोस्,’ उनले भने ।


क्लिकमान्डु