सुनसरी घटना: शान्ति र सामाजिक सद्भाव कायम राख्न रास्वपा सभापतिको अपील

56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरी लगायतका पूर्वी जिल्लाहरूमा हालै घटेका संवेदनशील र दुःखद घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले उक्त घटना र त्यसले निम्त्याएको तनावपूर्ण परिस्थितिले सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको उल्लेख गरेको छ।

पार्टी सभापति रवि लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । साथै, घटनामा घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन सक्दैन भन्ने हाम्रो स्पष्ट मान्यता छ। नेपाली समाजको सबैभन्दा ठूलो शक्ति र सौन्दर्य भनेकै हाम्रो बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौँदेखिको सामाजिक सद्भाव हो।’

रास्वपाले यस सद्भावलाई खलबलाउने, साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुर्‍याउने कुनै पनि गतिविधि नगर्न र नगराउन आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्वहरूमा अपील गरेको छ।

अहिलेको प्रमुख आवश्यकता कुनै पनि प्रकारका उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउनु रहेको कुरामा पार्टीले जोड दिएको छ। संवेदनशील परिस्थितिमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा गर्न रास्वपाले नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण गरिरहेको समेत जानकारी दिएको छ।

रास्वपाले घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय तथा राहत (क्षतिपूर्ति र निःशुल्क उपचार) उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

विज्ञप्ति मार्फत सभापति लामिछानेले यस संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतीकरण नगर्न सम्पूर्ण राजनीतिक दल र सम्बद्ध पक्षहरूलाई विशेष आग्रह गरेका छन् । साथै, रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यहरूलाई शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न विशेष निर्देशन समेत दिइएको छ ।