पौने २ अर्बमा खिम्ती–घ्वाङ हाइड्रो बन्दै, अर्को वर्षको चैतसम्ममा सकिने

1k
Shares

काठमाडौं । खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।

वन्डर्स इनर्जीले निर्माण गर्न लागेको यो ९ मेगावाट क्षमताको आयोजना हो । यस सम्बन्धी ऋण लगानी सम्झौता मंगलबार सम्पन्न भएको हो ।

सम्झौतामा एनएमबी बैंकको तर्फबाट सस्टेनेबल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र वन्डर्स इनर्जीको तर्फबाट प्रबन्ध निर्देशक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।

यो आयोजना दोलखा जिल्लाको जिरी नगरपालिका वडा नं. १ र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. १ को सिमाना भएर बहने खिम्ती–घ्वाङ खोलामा निर्माण भइरहेको छ ।

यस आयोजनाको निर्माण कार्य २०८४ साल चैतसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति र रुख कटानको अनुमति गत वैशाख १५ गतेको मन्त्रिपरिषद्को निर्णयबाट प्राप्त भइसकेको छ ।

यसका साथै आयोजनाका लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्स्ट्रक्सन पावर जडान, पहुँचमार्ग निर्माण, गोदाम घर तथा आवास गृहको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल निर्माण ठेक्का सम्झौता भई हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

आयोजना निर्माणका लागि कुल १ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा १ अर्ब २४ करोड ऋण लगानीका लागि एनएमबी बैंकसँग समझदारी भएको छ ।

बाँकी ५६ करोडमध्ये ३५ करोड जुटिसकेको र बाँकी ३० करोड आगामी असोजभित्रमा जुटाउने गरी काम भइरहेको प्रबन्ध निर्देशक प्रकाश चन्द्र दुलालले जानकारी दिए ।

गौरीशङ्कर संरक्षण क्षेत्रभित्र निर्माण भइरहेको यो आयोजना नेपालमा हाल निर्माणाधीन जलविद्युत् आयोजनाहरूमध्ये ‘हाइड्रो सेलेक्ट टुल’ प्रयोग गरी सामाजिक तथा वातावरणीय हिसाबले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर निर्माण गरिने पहिलो आयोजना समेत हुने बताइएको छ ।