बिजुलीमा भ्याट लागतका कर हटाउन उज्यालो नेपाल पार्टीको माग

0
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले देशको दीर्घकालीन आर्थिक रूपान्तरणका लागि ‘हरितक्रान्ति’ लाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउँदै स्वदेशी उत्पादन, ऊर्जा खपत र सुशासनमा आधारित नयाँ आर्थिक नीतिको माग गरेको छ ।

गत साउन ९ देखि ११ गतेसम्म काठमाडौंमा सम्पन्न ३ दिने बैठकले सर्वसाधारणमाथि थोपरिएको ५ प्रतिशत विद्युत् महसुल भ्याट, राइड सेयरिङको कर र विद्युतीय गाडीमा बढाइएको कर तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।

उज्यालो नेपाल पार्टी केन्द्रीय समिति बैठकद्वारा सर्वसम्मत पारित समसामयिक राजनीतिक परिस्थिति, आर्थिक तथा राजनीतिक प्रस्तावमा हरितक्रान्ति केवल वातावरण संरक्षणमा सीमित नभई कृषि, ऊर्जा, उद्योग, प्रविधि, पर्यटन, यातायात र पूर्वाधार क्षेत्रलाई आर्थिक रूपान्तरणसँग जोड्ने राष्ट्रिय अभियान भएको बताइएको छ ।

४५ सय मेगावाट उत्पादन क्षमता र २९ अर्बको विद्युत् निर्यातको उपलब्धि भइसक्दा पनि स्वदेशी खपत बढाउने नीतिको सट्टा कर बढाएर हरित ऊर्जा प्रयोगलाई निरुत्साहित गरिएकोमा पार्टीले आपत्ति जनाएको छ ।

बैठकले उद्योगहरूबाट उठाउनुपर्ने अर्बौँ रुपैयाँको डेडिकेटेड तथा ट्रंक लाइन प्रिमियम महसुल बक्यौता असुलीमा सरकार मौन बसेको तर सामान्य घरायसी उपभोक्तामाथि ५ प्रतिशत भ्याटको भार थोपरेको भन्दै आक्रोश पोखेको छ ।

प्रचलित कानुनबमोजिम उद्योगको बाँकी बक्यौता तत्काल असुल गर्न ध्यानाकर्षण गराउँदै पार्टीले कृषि क्षेत्रलाई राहत भन्दा पनि समयमै मल, बीउ, समर्थन मूल्य र बजार पहुँचसहितको ‘सम्मानजनक उत्पादनको अवसर’ दिनुपर्नेमा जोड दिएको छ ।

यसैगरी, सहकारी ठगीमा दोषीबाटै रकम असुल गरी पीडितको बचत फिर्ता गराउनुपर्ने, मिटरब्याज तथा लघुवित्त पीडितका समस्या समाधान गर्नुपर्ने र काठमाडौँमा पूर्वतयारी विना उठिबास लगाइएका सुकुम्वासीहरूलाई मानवीय आधारमा दीर्घकालीन व्यवस्थापन गरिनुपर्ने माग गरिएको छ। बजारमा अस्वाभाविक रूपमा बढेको मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमन गर्नसमेत सरकारलाई ताकेता गरिएको छ ।