
एजेन्सी । सेमिकन्डक्टर निर्माता चांग्सिन टेक्नोलोजी ग्रुपले शाङ्हाईको प्रविधिमा आधारित स्टार मार्केटमा ऐतिहासिक सुरुआत गरेको छ ।
सोमबार कारोबारको पहिलो दिनमै कम्पनीको सेयर मूल्य करिब ४६६ प्रतिशतले बढेपछि यो चीनको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी बनेको छ । हेफेईमा मुख्यालय रहेको यस कम्पनीले आफ्नो प्राथमिक सेयर (आईपीओ) मार्फत ५७.९२ अर्ब युआन पुँजी संकलन गरेको छ । प्रतिसेयर ८.६६ युआनमा निष्काशन गरिएको यो आईपीओ यस वर्ष एसियाकै सबैभन्दा ठूलो सार्वजनिक निष्काशन हो ।
सोमबारको बजार बन्द हुँदा चांग्सिनको सेयर मूल्य ४९ युआन पुगेको थियो जसका कारण यसको कुल बजार पुँजीकरण करिब ३३ खर्ब युआन पुगेको छ । यससँगै चांग्सिनले चीनको प्रतिष्ठित इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइनाको २६ खर्ब युआनको बजार पुँजीकरणलाई समेत उछिनेको छ ।
कम्पनीको आईपीओ विवरण अनुसार, सन् २०२५ मा विश्वव्यापी ड्रयाम बजारमा चांग्सिनको हिस्सा ७.६७ प्रतिशत रहेको छ । स्मार्टफोनदेखि सर्भरसम्म प्रयोग हुने यस्ता चिप्सहरूको विश्व बजारमा हाल सामसुङ इलेक्ट्रोनिक्स, एसके हाइनिक्स र माइक्रोन टेक्नोलोजीको वर्चस्व रहेको छ ।
यीयी क्यापिटलका सीईओ थियोडोर साउले सीएनबीसीसँग कुरा गर्दै चांग्सिन भविष्यमा विश्वव्यापी नेतृत्वकर्ता बन्नेमा कुनै शंका नरहेको बताएका छन् । उनका अनुसार, यो कम्पनी यस क्षेत्रमा केवल एक चुनौती मात्र नभई विश्वव्यापी च्याम्पियन बन्ने दिशामा अघि बढेको छ ।
एप्पलले चीनमा बिक्री हुने आफ्ना उपकरणहरूका लागि चांग्सिनका चिप्सहरू परीक्षण गर्न थालेको खबरले पनि यस कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढाएको छ ।
गत वर्ष नोक्सानमा रहेको चांग्सिनले यस वर्षको पहिलो त्रैमासिकमा ३५.४३ अर्ब युआन सञ्चालन नाफा कमाएको छ ।
विश्वव्यापी रूपमा बढ्दो कम्प्युटिङ शक्ति र ठूला निर्माताहरूको मागका कारण कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको हो ।
साउका अनुसार, पहिलो दिनमै ४७० प्रतिशतको वृद्धि हुनु आफैंमा दुर्लभ नभए पनि यति ठूलो आकारको कम्पनीले यस्तो प्रदर्शन गर्नु भने विशेष हो । बजारमा उपलब्ध सीमित सेयर र लगानीकर्ताहरूको उच्च उत्साहले यो उछाल ल्याउन मुख्य भूमिका खेलेको उनको विश्लेषण छ ।
मर्निङस्टारका अनुसार, कृत्रिम बुद्धिमत्ता (एआई) अहिले चीनको राष्ट्रिय सुरक्षाको विषय बनेकाले चांग्सिन यसबाट प्रत्यक्ष लाभान्वित हुने देखिन्छ । प्रविधिमा अझै केही पछाडि भए पनि चीन सरकारले सेमिकन्डक्टरमा आत्मनिर्भरता खोजिरहेकाले आन्तरिक बजारका एआई कम्पनीहरूले चांग्सिनकै चिप्सहरू प्रयोग गर्ने सम्भावना बलियो छ ।
सन् २०१६ मा अध्यक्ष चु यिमिङद्वारा स्थापित यस कम्पनीले आईपीओबाट संकलित रकमलाई अनुसन्धान र विकासका साथै ठूलो परिमाणमा मेमोरी वेफर उत्पादन गर्न खर्च गर्ने योजना बनाएको छ ।
तर, विज्ञहरूले लगानीकर्ताहरूलाई केही सतर्क रहन पनि सुझाव दिएका छन् । साउले अहिले चिप बजारको उत्साह आफ्नो चरम बिन्दुमा पुगेको र हाल देखिएको उच्च नाफा सधैं कायम नहुने चेतावनी दिएका छन् ।
उनका अनुसार, बजार चक्रको हिसाबले यो नाफा पछि सामान्य अवस्थामा फर्किनेछ र अहिलेको वृद्धि माग र आपूर्तिबीचको असन्तुलनका कारण सिर्जना भएको हो ।





प्रतिक्रिया