विश्वभर चिनियाँ प्रभाव घटाउन ट्रम्प प्रशासनले अर्बौं डलर लगानी बढाउने

63
Shares

एजेन्सी । अमेरिकाको ट्रम्प प्रशासनले विश्वभरि बढ्दो चिनियाँ प्रभावलाई रोक्ने उद्देश्यका साथ आफ्ना कार्यक्रमहरूमा करोडौं डलर बजेट थप्ने तयारी गरेको छ ।

गत वर्ष बजेट र कर्मचारी कटौतीका कारण रोकिएका धेरै पहलहरूलाई अहिले पुनः सुचारु गर्न लागिएको हो । गत साता मात्रै प्रशासनले क्यारिबियन र मध्य अमेरिकामा पुराना भइसकेका समुद्री दूरसञ्चार केबलहरू प्रतिस्थापन गर्न १७ करोड ५८ लाख डलर खर्च गर्ने योजनाबारे अमेरिकी संसद्लाई जानकारी गराएको छ । यसको मुख्य उद्देश्य ती क्षेत्रमा चीनलाई आफ्नो पूर्वाधार विस्तार गर्नबाट रोक्नु रहेको छ ।

अमेरिकी प्रशासनले उत्तर तथा दक्षिण अमेरिकामा चीनको गतिविधिलाई लिएर गहिरो चिन्ता व्यक्त गर्दै आएको छ । पानामा नहरका दुवै तर्फका बन्दरगाहमा चिनियाँ स्वामित्व, बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गतका पूर्वाधार आयोजना र दूरसञ्चार क्षेत्रमा चिनियाँ लगानीलाई अमेरिकाले ठूलो चुनौतीका रूपमा लिएको छ ।

विदेश मन्त्रालयका एक अधिकारीका अनुसार, पश्चिमी गोलार्धमा चीनको आर्थिक गतिविधिले अमेरिकाको राष्ट्रिय सुरक्षा र समृद्धिमा जोखिम पैदा गरेको छ । चिनियाँ प्रस्तावहरू सुरुमा सस्तो देखिए पनि अन्ततः लागत वृद्धि, लुकेका मर्मत शुल्क र कमजोर कार्यक्षमताका कारण ती महँगो साबित हुने ती अधिकारीको दाबी छ ।

समुद्री केबलका लागि छुट्याइएको बजेट विश्वभर चिनियाँ प्रभाव घटाउने बृहत् योजनाको हिस्सा मात्र हो । त्यसमा भविष्यमा थप करोडौं डलर खर्च गरिनेछ । राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ नेता सी चिनपिङबीच सहकार्यको वातावरण देखिए पनि र सी यसै शरद ऋतुमा अमेरिका भ्रमणमा आउने तयारीमा रहे पनि अमेरिकाले आफ्नो रणनीतिलाई अझ बलियो बनाउँदै लगेको छ ।

अमेरिकी विदेश मन्त्रालयको आन्तरिक दस्तावेजअनुसार, पश्चिमी गोलार्ध, अफ्रिका र एसियामा चिनियाँ प्रभाव रोक्न थप आधा अर्ब डलर खर्च गर्ने विषयमा विचार भइरहेको छ ।

मन्त्रालयको उक्त दस्तावेजमा चिनियाँ कम्युनिस्ट पार्टीको बढ्दो आर्थिक, प्राविधिक र कूटनीतिक पकडले अमेरिकी राष्ट्रिय हितलाई कमजोर बनाइरहेकाले त्यसको डटेर सामना गर्नुपर्ने उल्लेख गरिएको छ । इलोन मस्कको नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सीले गत वर्ष गरेको भारी बजेट र कर्मचारी कटौतीका कारण कतिपय क्षेत्रमा अमेरिकाको कूटनीतिक प्रभाव घटेको थियो ।

गत वर्षको उक्त कटौतीले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) लाई विखण्डन गर्नुका साथै सयौं कूटनीतिक पदहरू खारेज गरेको थियो जसले पहिले स्वीकृत भइसकेका कतिपय चिनियाँ विरोधी परियोजनाहरूमा पनि असर पारेको थियो ।

प्रशासनका एक वरिष्ठ अधिकारीले चिनियाँ प्रभाव रोक्न लगानी बढाउने योजनाको पुष्टि गरे पनि विस्तृत विवरण भने छलफलकै क्रममा रहेको बताएका छन् । संसद्लाई जानकारी गराइएको कार्यक्रमको नाम क्यारिबियन र मध्य अमेरिकामा सीसीपी नियन्त्रित समुद्री केबलहरू विरुद्धको परियोजना राखिएको छ ।

यस अन्तर्गत रणनीतिक रूपमा चयन गरिएका स्थानमा समुद्री केबल पूर्वाधार जडान गरिनेछ र विदेशी सरकारहरूलाई निजी क्षेत्रका भरपर्दो अमेरिकी केबल प्रदायकहरूसँग साझेदारी गर्न सहयोग पुर्याइनेछ । यसले पुराना केबलहरूलाई विस्थापित गरी सुरक्षित र विश्वसनीय विकल्पहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।

इरानसँगको युद्ध र गाजा तथा लेबनानमा शान्ति प्रयासमा व्यस्त रहे पनि ट्रम्प प्रशासनले पश्चिमी गोलार्धलाई विशेष प्राथमिकतामा राखेको छ । यसै वर्ष भेनेजुएलाका नेता निकोलस मदुरोलाई नियन्त्रणमा लिएको र क्युबा तथा निकारागुवाको सरकारमाथि कडा प्रतिबन्ध लगाएको अमेरिकाले यस नयाँ कार्यक्रममार्फत एल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस र हाइटी जस्ता देशहरूमा समुद्री केबल परियोजनाहरूलाई सहयोग गर्ने लक्ष्य राखेको छ ।

तर, निकारागुवासँगको कमजोर सम्बन्धका कारण अमेरिकाले त्यहाँको सरकारसँग भने सिधै सहकार्य गर्ने छैन । वाशिङटनस्थित चिनियाँ दूतावासले भने यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यसका साथै प्रशासनले विश्वभरका ५० भन्दा बढी विशिष्ट चिनियाँ विरोधी परियोजनाहरूका लागि ३४ करोड डलरभन्दा बढी खर्च गर्ने योजना बनाएको छ । यस अन्तर्गत अर्जेन्टिना र बेलिजमा चिनियाँ साइबर खतराहरू र महत्त्वपूर्ण पूर्वाधारहरूको निगरानी गर्न सुरक्षा अपरेसन सेन्टरहरू स्थापना गरिनेछ ।

त्यसैगरी इक्वेडर, जमैका, मेक्सिको, पाराग्वे, पेरु र उरुग्वेमा चिनियाँ कम्पनीहरूले बन्दरगाह सञ्चालनमा हस्तक्षेप गर्ने वा अवैध रूपमा समुद्री स्रोत र खनिज उत्खनन गर्ने कार्यलाई रोक्न विभिन्न पहलहरू पुनः सुचारु गरिनेछन् ।

थप रूपमा, दलाई लामाको उत्तराधिकारी चयनमा चीनको प्रभाव रोक्न सुरक्षित सञ्चार र सूचना संकलन प्रविधिको विकास गर्ने योजना पनि अमेरिकाको प्राथमिकतामा छ । साथै, चीनको अन्तरिक्ष कार्यक्रममा हुने अन्तर्राष्ट्रिय सहयोगलाई निरुत्साहित गर्ने र चिनियाँ कम्पनीहरूले निर्यात गर्ने निगरानी तथा सेन्सरशिप प्रविधि विरुद्ध लड्ने जस्ता योजनाहरू पनि यस प्रस्तावमा समेटिएका छन् ।

राष्ट्रपति ट्रम्पले सेप्टेम्बर महिनामा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभाका क्रममा चिनियाँ नेता सीसँग भेट्ने अपेक्षा गरिएको छ । सोही भेटको तयारीका लागि विदेशमन्त्री मार्को रुबियोले गत हप्ता फिलिपिन्समा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए ।

ट्रम्पले सधैं चिनियाँ नेता सीसँगको सम्बन्धमा मिश्रित व्यवहार देखाउँदै आएका छन् । उनी एकातिर सीलाई मित्रको रूपमा प्रस्तुत गर्छन् भने अर्कोतिर चिनियाँ रणनीति विरुद्ध कडा कदम चालिरहेका छन् ।

यी नयाँ प्रस्तावित कार्यक्रमहरूको वास्तविक प्रभाव कस्तो रहला भन्ने कुरा आगामी समयले नै स्पष्ट पार्नेछ ।