
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ।
कम्पनीले खुला प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा नियुक्ति गर्ने गरी योग्य, सक्षम तथा अनुभवी नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मिति (२०८३/४/११) ले १५ दिनभित्र आवेदन दिनुपर्नेछ।
कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार, यस पदका लागि सिभिल, इलेक्ट्रिकल वा मेकानिकल इन्जिनियरिङ अथवा व्यवसाय प्रशासनमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको व्यावसायिक अनुभव भएको हुनुपर्नेछ। त्यस्तै, सम्बन्धित इन्जिनियरिङ विधामा स्नातक तह उत्तीर्ण गरेकाहरूको हकमा भने कम्तीमा १२ वर्षको व्यावसायिक अनुभव माग गरिएको छ।
जलविद्युत आयोजनाको निर्माण कार्यमा अधिकृत स्तर वा सोभन्दा माथिल्लो पदमा काम गरेको वा जलविद्युत कम्पनीको उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव भएका उम्मेदवारलाई छनोट प्रक्रियामा प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
नियुक्त हुने प्रमुख कार्यकारी अधिकृतको कार्यकाल अधिकतम ४ वर्षको हुनेछ। आवेदन दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ४० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ। छनोट प्रक्रिया ‘कार्यक्षेत्रगत सर्त’मा उल्लेख भए बमोजिम हुने र पारिश्रमिक तथा सुविधा कम्पनीको नियम र आपसी सहमतिमा तय गरिनेछ।
इच्छुक उम्मेदवारले आवश्यक कागजातहरू स्क्यान गरी कम्पनीको इमेल [email protected] मार्फत वा काठमाडौँको धुम्बाराहीस्थित कम्पनीको कार्यालयमा कार्यालय समयभित्र बुझाउन सक्नेछन्। सम्बन्धित विस्तृत विवरण कम्पनीको आधिकारिक वेबसाइट www.rghpcl.com.np बाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।





प्रतिक्रिया