सुनसरीको सीमावर्ती कप्तानगन्जमा सुरक्षाकर्मीको गोली लागेर १ जनाको मृत्यु, ८ घाइते



विराटनगर । सुनसरीको सीमावर्ती देवानगञ्ज ३ कप्तानगन्जमा आइतबार राति दुई समुदायवीच भएको झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउदा एकको ज्यान गरएको छ । त्यसक्रममा अन्य ९ सर्वसाधारण र १३ जना सुरक्षाकर्मी घाइते भएका छन ।
कप्तानगन्जको स्थितीलाई नियन्त्रणमा लिन सुनसरी प्रशासनले अहिले देवानगन्ज वडा नं २, ३ र ४ सहित छिमेकी हरिनगरा गाउँपालिकाका केही स्थानमा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रहरीको गोली लगोर देवानगञ्ज ४ का ३० वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २० वर्षीय जयप्रकाश मेहता गम्भीर घाइते भएका छन् । त्यसैगरी मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, अमितकुमार यादव, रविन्द्र मेहता, अर्का अमितकुमार यादव तथा सुनिलकुमार मेहताको उपचार विराटनगरस्थित न्युरो अस्पताल र विराट अस्पतालमा उपचार भइरहेको छ ।

गाउँपालिका उपाध्यक्ष कुमारी विभा यादवका अनुसार घाइते सवैलाई प्रहरीको गोली लागेको छ । उनका अनुसार स्थानीय प्रशासनले कफ्यु आदेश जारी गरेपनि अहिले पनि कम्तानगन्जको अवस्था तनावग्रस्त नै छ ।

सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज, कप्तानगन्ज, घुस्की, हरिनगरा मुस्लिम समुदायको वाहुल्य रहेको स्थान हो । यहाँ हिन्दु र मुस्लिमका हरेक पर्वका क्रममा दुई पक्षीय झडप हुनुलाई सामान्य मानिदै आएको छ । त्यसैगरी यि क्षेत्र तस्करीकालागि पनि प्रख्यात मानिन्छ ।

सुनसरी प्रहरीका अनुसार आइतवार राती १० बजेतिर साउन महिनामा हुने बोलबमका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगन्ज चोकतर्फ जाने क्रममा डिजेको आवाजलाई लिएर अर्को समुदायले विरोध गर्दा दुवै पक्षवीच झडप भएको थियो ।

सुरक्षाकर्मी र स्थानीयले दुवै पक्षलाई सम्झाउने प्रयास गर्दा दुवै पक्षवाट सुरक्षाकर्मीलाई समेत चिर्पट, ढुंगा, बाँस, लाठी र भाला प्रहार सुरु भएपछि स्थिती तनावग्रस्त बन्यो ।

दुवै पक्षबाट ढुंगामुढा हुँदा इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएपछि त्यसपछि स्थितीलाई नियन्त्रणमा लिन राती ११ बजे सशस्त्र प्रहरीले गोली चलाएको सुनसरी प्रशासनको दावी छ । तर कति राउण्ड गोल चल्यो प्रशासनले सार्वजनीक गरेको छैन ।