
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले समयमै ऋण नतिर्ने शारदा प्रसाद अधिकारी सहितलाई ऋण तिर्न ३५ दिने ताकेता गरेको छ ।
बैंकले सार्वजनिक गरेको ऋणीहरूको पहिलो सूचीमा ‘सिपेल इन्फ्रा-बैंक जमानत (एडभान्स पेमेन्ट)’ रहेको छ, जसमा ललितपुरका शारदा प्रसाद अधिकारी र उनका छोरा नितेश अधिकारीसँगै भारतीय नागरिकहरू सबिना खनम र परविज खान समेत पार्टनरका रूपमा आबद्ध रहेका छन् ।
शारदा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्व घरबेटीको रूपमा चर्चामा रहँदै आएका व्यक्ति हुन् । राजनीतिक वृत्तमा उनको चर्चा सधैँजसो हुँदै आएको छ । साथै उनी निर्माण व्यवसायमा समेत संलग्न छन् । उनको कम्पनीले निर्माण गरेको विभिन्न सडकखण्ड समयमै नसकिएको भन्दै विवाद समेत हुँदै आएको छ ।
बैंकले शुक्रबार प्रकाशित गरेको यो सूचनामा तोकिएको समयभित्र सम्पूर्ण बक्यौता फछ्र्यौट गर्न समेत भनिएको छ ।
पटक-पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि सावाँ, ब्याज, किस्ता र हर्जाना बुझाउन कुनै चासो नदेखाएपछि बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ र ‘ऋण असुली ऐन, २०५८’ को अधिकार प्रयोग गर्दै यो सूचना निकालेको हो ।
३५ दिनभित्र सम्पूर्ण सावाँ, ब्याज र हर्जाना रकम चुक्ता नभएमा ऋणी, प्रोप्राइटर र जमानीकर्ताहरू सबैलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरिने बैंकले जनाएको छ । यसका साथै, बैंकमा धितो स्वरूप राखिएको चल-अचल सम्पत्तिलाई ‘जे जस्तो अवस्थामा छ’ सोही अवस्थामा लिलाम बिक्री गरी बैंकको लेना रकम असुल गरिनेछ ।
यदि धितो बिक्रीबाट पनि बैंकको सम्पूर्ण ऋण असुल हुन नसकेमा ऋणी र जमानीकर्ताहरूको अन्य घरघराना तथा निजी सम्पत्तिबाट समेत प्रचलित कानुन बमोजिम बाँकी बक्यौता असुल गरिने बैंकले जनाएको छ । बैंकले यस सूचनालाई अन्तिम चेतावनी मान्न र कानुनी प्रक्रियाबाट बच्न तुरुन्त बैंकमा सम्पर्क राख्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।





प्रतिक्रिया