एमाले र नेकपाबीच प्रदेश सरकार गठन बिषयमा लिखित सहमति

0
Shares

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सत्ता साझेदारीका विषयमा औपचारिक र लिखित सहमति भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भएको यस सहमतिले प्रदेश तहको नयाँ शक्ति समीकरणलाई स्पष्ट पारेको छ।

प्रदेश सभाहरूमा बजेट निर्माणमा देखिएका असमझदारी र राजनीतिक अस्थिरतालाई चिर्दै सुशासन र विकासको गतिलाई तीव्र बनाउन दुई दलले सहकार्यको हात मिलाएका हुन्।

सहमति पत्र अनुसार सात मध्ये पाँच वटा प्रदेशको नेतृत्वका विषयमा दुई दलबीच सहमति जुटेको छ।

जस अन्तर्गत कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा (एमाले) ले गर्ने तय भएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले सम्हाल्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको छ।

यी प्रदेशहरूमा दुवै दलले संयुक्त सरकार गठन गर्ने र प्रदेश सभामा पूर्ण रूपमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बाँकी रहेका मधेश र गण्डकी प्रदेशको नेतृत्वका बारेमा भने अहिले नै ठोस निर्णय हुन सकेको छैन।

यी दुई प्रदेशमा सरकार गठनको सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत आवश्यक परामर्श र छलफल गरेर मात्र सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ।

यसले यी दुई प्रदेशमा अन्य साना तथा क्षेत्रीय दलहरूको भूमिका पनि निर्णायक हुने देखिएको छ।

आज हस्ताक्षर गरिएको यस तीन बुँदे सहमति पत्रमा दुवै नेताले जनताको चाहना अनुरूप राजनीतिक स्थिरता कायम गर्दै प्रादेशिक विकासलाई अघि बढाउने संकल्प गरेका छन्।

बजेटविहीनता र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाले सिर्जना गरेका समस्याहरूलाई समाधान गर्न यो नयाँ राजनीतिक कदम चालिएको दुवै पक्षको दाबी छ। यो सहमतिसँगै अब सबै प्रदेशहरूमा सरकार निर्माण र सञ्चालनको प्रक्रियाले नयाँ मोड लिने अपेक्षा गरिएको छ।