के एक रुपैयाँको सिक्कामा चुच्चे नक्सा र आकाश भैरवको आकृति राख्ने तयारी भएको हो ?

168
Shares

काठमाडौं । सरकारले प्रचलनमा ल्याउने नयाँ एक रुपैयाँको सिक्काको डिजाइनमा नेपालको चुच्चे नक्सा र आकाश भैरवको आकृति समावेश गर्ने तयारी गरेको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार तयार पारिएको नयाँ डिजाइनलाई अब बस्ने मन्त्रिपरिषद् बैठकमा स्वीकृतिका लागि प्रस्तुत गर्ने तयारी भइरहेको छ।

यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङस्थित घार गुम्बाको चित्र समेटिएको डिजाइन स्वीकृतिका लागि सरकारसमक्ष पठाएको थियो।

तर मन्त्रिपरिषद्ले उक्त प्रस्ताव पुनः परिमार्जन गर्न निर्देशन दिँदै फिर्ता पठाएको थियो। त्यसपछि राष्ट्र बैंकले नयाँ अवधारणाअनुसार अर्को डिजाइन तयार गरेको हो।

प्रचलित कानुनी व्यवस्थाअनुसार नोट वा सिक्काको नयाँ डिजाइन स्वीकृत गर्न अथवा परिवर्तन गर्न मन्त्रिपरिषद्को निर्णय अनिवार्य हुन्छ। यही प्रक्रियाअनुसार नयाँ सिक्काको डिजाइन अन्तिम स्वीकृतिको चरणमा पुगेको सरकारी स्रोतले जनाएको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार नयाँ सिक्काको डिजाइनमा नेपालको नक्सालाई निरन्तरता दिइनेछ।