भारत र बंगलादेशमा बिजुली निर्यातबाट नेपालले कमायो २९ अर्ब ३२ करोड

371
Shares

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा भारत तथा बंगलादेशतर्फको विद्युत् निर्यातबाट नेपालले कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशतले बढी हो ।

नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक आव २०८१/८२ र आव २०८२/८३ को क्रस-बोर्डर विद्युत् आयात-निर्यातको तथ्यांकले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको देखाएको हो ।

प्राधिकरणको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो । तर २०८२/०८३ मा निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ ।

भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत समीक्षा वर्षमा औसत ७.५६ रुपैयाँ प्रति युनिटका दरले बिजुली बिक्री गरी यो आम्दानी भएको हो ।

निर्यात आम्दानीमा उल्लेख्य वृद्धि हुँदा समीक्षा वर्षमा बाह्य स्रोतबाट हुने विद्युत् आयात भने उल्लेख्य रूपमा घटेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो । तर २०८२/०८३ मा आयात परिमाण ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ। आयात परिमाण घटेसँगै यो वर्ष कुल आयात खर्च पनि घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२९ प्रतिशतले कम हो ।

आव २०८२/०८३ मा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको निर्यात आम्दानीबाट १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको कुल आयात खर्च कटाउँदा नेपालले विद्युत् व्यापारबाट मात्रै कुल १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा यस्तो खुद बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्र रहेकोमा समीक्षा वर्षमा यो बचत ३१३ प्रतिशत (करिब चार गुणाभन्दा बढी) ले वृद्धि भएको छ ।