अमेरिका वार्ताका लागि तयार तर इरान गम्भीर छैनः अमेरिकी विदेशमन्त्री मार्को रुबियो

49
Shares

एजेन्सी । अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले अमेरिका अझै पनि इरान संकट अन्त्यका लागि वार्ता गर्न इच्छुक रहेको बुधबार बताएका छन् । उनले तेहरान वार्ताप्रति गम्भीर नरहेको आरोप लगाएका छन् ।

यसैबीच विस्तार हुँदै गएको यस द्वन्द्वले विश्वका दुई सबैभन्दा महत्त्वपूर्ण ऊर्जा मार्गहरूमा अवरोध सिर्जना गरेको छ ।

दक्षिणपूर्वी एसियाली विदेशमन्त्रीहरूको बैठकमा रुबियोले यस्तो टिप्पणी गरेका हुन् । यो टिप्पणी लाल सागरमा साउदी कच्चा तेल बोकेर एसियातर्फ गइरहेका तीनवटा तेल ट्यांकरहरूले आफ्नो मार्ग परिवर्तन गरेको एक दिनपछि आएको हो । यमनका इरान समर्थित हुती विद्रोहीहरूको धम्कीका कारण ती ट्यांकरहरू फर्किएको देखिएको छ ।

लाल सागरको मुखमा रहेको तट नियन्त्रण गरिरहेका हुतीहरूले सोमबार साउदी अरबमाथि जलसैनिक नाकाबन्दीको घोषणा गरेका थिए । फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणबाट सुरु भएको यस युद्धले खाडी क्षेत्रमा हजारौं मानिसको ज्यान लिइसकेको छ र हुतीको यस कदमले युद्धमा नयाँ मोर्चा खोलेको छ ।

इरानले खाडीबाट बाहिरिने स्ट्रेट अफ हर्मुज मार्फत हुने ढुवानीमा पहिले नै अवरोध पुर्याउने धम्की दिइरहेको अवस्थामा लाल सागर साउदी अरबको दैनिक लाखौं ब्यारल तेलका लागि मुख्य वैकल्पिक मार्गका रूपमा रहेको थियो । तर, अहिले यो मार्ग पनि जोखिममा परेको छ ।

एक वरिष्ठ इरानी अधिकारीले रोयटर्सलाई बताएअनुसार, तेहरानले मध्यस्थकर्ताहरूबाट १० दिने युद्धविरामको प्रस्ताव प्राप्त गरेको छ । यो प्रयास गत जुनमा अमेरिका र इरानबीच भएको अन्तरिम युद्धविराम सम्झौतालाई बचाउनका लागि गरिएको हो जसले अप्रिलको सुरुवाती युद्धविरामलाई प्रतिस्थापन गरेको थियो ।

कूटनीतिक प्रयासहरू अझै जारी रहेको अर्को संकेतका रूपमा इरानका आन्तरिक मन्त्री एस्कन्दर मोमेनीले मध्यस्थकर्ता राष्ट्र पाकिस्तानको भ्रमण गरी इस्लामाबादलाई आफ्ना प्रयासहरू जारी राख्न आग्रह गरेका छन् । तर, रुबियोले वाशिङटन सधैं कूटनीतिप्रति प्रतिबद्ध रहेको दाबी गर्दै तेहरान वार्ताप्रति उत्तिकै प्रतिबद्ध छ भन्नेमा शंका व्यक्त गरे ।

मनिलामा बोल्दै रुबियोले भने, ‘हाम्रो मुख्य समस्या यो हो कि उनीहरू वार्ताप्रति गम्भीर छैनन् । उनीहरू गम्भीर छन् भने हामी पनि छौं । उनीहरू छैनन् भने हामी आफ्ना र हाम्रा सहयोगीहरूको हित रक्षाका लागि आवश्यक कदम चाल्नेछौं ।’

उनले इरानलाई स्ट्रेट अफ हर्मुज नियन्त्रण गर्न दिन नसकिने कुरामा जोड दिए । इरानको यस्तो कदमले दक्षिणपूर्वी एसियाली देशहरू लगायत विश्वका लागि खतरनाक नजिर स्थापना गर्ने उनले तर्क गरे । त्यसमध्ये धेरैको दक्षिण चीन सागरमा चीनसँग क्षेत्रीय विवाद छ ।

कुनै राष्ट्रले अन्तर्राष्ट्रिय जलमार्ग नियन्त्रण गर्ने, महसुल असुल्ने र नतिरेमा जहाजहरू उडाइदिने निर्णय गर्छ भने त्यो विश्वका अन्य भागका लागि पनि घातक हुने उनले बताए ।

कूटनीतिक समाधानको कुनै संकेत नदेखिएपछि अमेरिकी सेनाले मंगलबार लगातार ११औं रात इरानका विभिन्न लक्ष्यहरूमा बमवर्षा गरेको छ । तेहरानका बासिन्दाहरूले बुधबार बिहानै ठूला विस्फोटका आवाजहरू सुनेका छन् भने इरानको अर्ध–आधिकारिक समाचार एजेन्सी फार्सले राजधानीमा इरानी वायुरक्षा प्रणाली सक्रिय पारिएको जनाएको छ ।

इरानको एक मात्र आणविक ऊर्जा केन्द्र रहेको बुशहर प्रान्तका तीनवटा स्थानमा अमेरिकी आक्रमण भएको छ । इरानी राज्य समाचार एजेन्सी आईआरएनएका अनुसार, ती आक्रमणहरूमा ऊर्जा केन्द्र नजिकै रहेको एउटा विद्युत् स्टेशनमा समेत क्षति पुगेको छ ।

जवाफमा इरानी सेनाले बुधबार बिहान कुवेत, जोर्डन र बहराइनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई ड्रोनमार्फत निशाना बनाएको दाबी गरेको छ । सेनाका अनुसार, जोर्डनको अल अजराक वायु सेना केन्द्र र बहराइनको शेख इसा वायु सेना केन्द्रमा आरश नामक आत्मघाती ड्रोनहरू प्रयोग गरी आक्रमण गरिएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यस युद्धमा हालसम्म १८ अमेरिकी सैनिक मारिएको पुष्टि गरेका छन् जसमा जोर्डन र इराकका सैन्य आधारहरूमा भएका पछिल्ला इरानी आक्रमणमा मारिएका चार सैनिक पनि सामेल छन् । हुती धम्कीपछि तेलको मूल्यमा थप वृद्धि भएको छ ।

बेन्चमार्क ब्रेन्ट क्रुड प्रति ब्यारल ९१ डलर नाघेको छ भने अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर पुगेको छ ।
हुती विद्रोहीहरूले मंगलबार साउदी तेल लोड गर्ने वा अनलोड गर्ने कुनै पनि जहाजमाथि आक्रमण गर्ने धम्की दिएका छन् ।

राष्ट्रपति ट्रम्पले हुतीहरूले लाल सागर प्रवेश गर्ने मुख्य विन्दु बाब अल–मान्डेब (जसलाई आँसुको ढोका पनि भनिन्छ) लाई अझै बन्द नगरेको बताएका छन् । उनले त्यस्तो प्रयास भएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

चीन र भारतका लागि साउदी कच्चा तेल बोकेका तीनवटा ट्यांकरहरूले मंगलबार लाल सागरमा आफ्नो बाटो बदलेर स्वेज नहरतर्फ लागेका छन् । अहिलेसम्म साउदी अरबले लाल सागरको यान्बुसम्म पाइपलाइनमार्फत तेल पठाएर ढुवानीमा हुने अवरोधबाट केही राहत पाएको थियो । तर, हुतीहरूले यो मार्ग पूर्ण रूपमा बन्द गरिदिएमा साउदी तेलको निर्यात ठप्प हुनेछ ।

यसैबीच ट्रम्पले इरानको नतान्ज आणविक केन्द्रमा पुनः आक्रमण गर्ने धम्की दोहोर्याएका छन् । जुन २०२५ मा अमेरिकी बमवर्षाले सो केन्द्र पूर्ण रूपमा ध्वस्त भएको दाबी गरिएको भए पनि ट्रम्पले फेरि त्यहाँ आक्रमण गर्ने बताएका हुन् ।

इरानले पनि यसको बदला लिने वाचा गरेको छ । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्ला अमेरिकी आक्रमणमा ५० नागरिक मारिएका छन् भने ५०० जना घाइते भएका छन् ।