जनहितविपरीतका निर्णय रातारात सच्याउन सकिन्छ, सरकारको नियतमा शङ्का नगरौँ : रवि लामिछाने

0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गरेका निर्णयहरूबाट जनस्तरमा गम्भीर असर परेमा त्यस्ता निर्णयहरू तत्कालै फिर्ता लिन वा सच्याउन सकिने बताएका छन्।

रौतहटबाट आएका पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको छलफलमा सभापति लामिछानेले सरकारको नियतमा प्रश्न उठाउने ठाउँ नरहेको दाबी गरे।

काम गर्ने क्रममा कहिलेकाहीँ प्राविधिक वा व्यावहारिक त्रुटि हुन सक्ने भन्दै उनले त्यस्ता कमजोरीलाई समयमै करेक्सन गर्न सकिने स्पष्ट पारे।

उनले भने, ‘सरकारले गर्ने निर्णयहरू कहिलेकाहीँ विवादित हुन सक्छन्, तर नियत सफा छ भने त्यसलाई सच्याउन गाह्रो हुँदैन। किसानको हितका लागि गरिएको भनिएको निर्णयले यदि उल्टै किसानलाई नै घाटा पुर्‍याएको देखियो भने त्यस्ता निर्णयहरू परिवर्तन हुन्छन्। यसमा कसैले चिन्ता लिनु पर्दैन।’

सभापति लामिछानेले कतिपय दूरगामी महत्वका र भिजनरी निर्णयहरू सुरुवाती चरणमा कार्यान्वयन गर्दा केही चुनौती देखिए पनि कालान्तरमा ती सही प्रमाणित हुने तर्क गरे।

सरकारले ल्याएका नीतिहरूले मजदुर, किसान र विपन्न वर्गलाई मर्का पारेको अवस्थामा ती नीतिहरू अपरिवर्तनीय नरहेको उनले दोहोर्‍याए।

‘कुनै पनि निर्णयले ठूलो क्षति गर्ने देखियो भने त्यसलाई रातारात बदल्नुपर्छ, तर सरकारको भिजन बुझ्न थोरै धैर्यता भने आवश्यक हुन्छ,’ उनले थपे।

पार्टीको आन्तरिक सुशासन र खबरदारीका विषयमा बोल्दै लामिछानेले आफ्नै पार्टी गलत बाटोमा लागेमा कार्यकर्ताले सजग गराउनुपर्ने बताए। कार्यकर्ताका गुनासो र सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको भन्दै उनले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउने प्रतिवद्धता समेत जनाए।

उनले कार्यकर्तालाई आश्वस्त पार्दै भने, ‘मन्त्री वा मन्त्रालयबाट जनताका काममा ढिलासुस्ती वा बेवास्ता भएमा पार्टीले आफ्नो अभिभावकीय भूमिका निर्वाह गर्नेछ। जनताको पक्षमा उभिन पार्टी कहिल्यै पछि हट्ने छैन।’