हारको रीसमा बेलिङ्घमले अर्जेन्टिनी खेलाडीमाथि थप्पड हानेपछि…

1.3k
Shares

एजेन्सी । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा अर्जेन्टिनासँग २-१ ले हारेपछि इंग्ल्यान्डका स्टार मिडफिल्डर जुड बेलिङ्घमले पिचमै अर्जेन्टिनी खेलाडीमाथि हात उठाएको दृश्य क्यामेरामा कैद भएको छ ।

यो घटना बारे फिफाको अनुशासन समितिले अनुसन्धान थाल्ने सम्भावना देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

के भयो म्याचपछि ?

बिहीबार विहान भएको सेमिफाइनलमा एन्थोनी गोर्डनको गोलले इंग्ल्यान्ड १-० ले अगाडि थियो । तर खेलको ८५ औं मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गरे भने पूर्णकालको ठीक अगाडि लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई फाइनलको ढोका खोलिदिए ।

अन्तिम सिटी बजेसँगै अर्जेन्टिनाका खेलाडीहरू खुसीले उफ्रिँदै थिए।

यसैबीच २१ वर्षीय रिजर्भ खेलाडी भालेन्टिन बार्को इंग्लिस खेलाडीहरूकै अगाडि गएर सेलिब्रेट गर्न पुगे । यसले आफूलाई नियन्त्रण गर्न नसकेका बेलिङ्घम अचानक बार्कोतिर गए र उनको टाउकोको पछाडि हिर्काए। यो दृश्य स्पेनी च्यानल डियारियो एएसका पत्रकारले खिचेको फुटेजमा स्पष्ट देखिन्छ ।

थप्पडपछि बार्को झस्किएर फर्किए र बेलिङ्घम लाई धकेले, जसपछि दुवै टिमका खेलाडीबीच धक्कामुक्की सुरु भयो ।

निको पाजले बेलिङ्घमलाई समात्दै अलग गर्ने प्रयास गरे भने निकोलस ओटामेन्डी दौडेर आई बेलिङ्घमलाई पछाडि धकेले । बेलिङ्घमलाई साथी खेलाडीहरूले समातेर लैजानुपर्‍यो।

पहिलेदेखि नै तनावपूर्ण थियो खेल

यो घटना अचानक भएको भने होइन । म्याचको पहिलो हाफमै बेलिङ्घम र लियोनेल मेस्सीबीच सोझै वाकयुद्ध भएको थियो । खेलको उत्तरार्धमा अर्जेन्टिनाले गोल गरेपछि पनि बेलिङ्घमले रोड्रिगो डे पलसँग स्टेडियमको बीचमै तर्कवितर्क गरेका थिए । सम्पूर्ण टुर्नामेन्टमा उत्कृष्ट प्रदर्शन गरिरहेका बेलिङ्घमले यस म्याचमा भने न कुनै सट लगाए, न कुनै चान्स बनाए- बरु मेस्सीको एउटा नरोकिएको कठोर ट्याकलको सिकार समेत बने ।

म्याचपछि भावनामा बगेका बेलिङ्घम रुँदै मैदान छोडेको पनि देखिएको थियो ।

फिफा कारबाहीको जोखिममा बेलिङ्घम

घटना म्याच सकिएपछि भएकाले रेफ्रीले तत्काल कुनै कारबाही गर्न सकेनन् । तर भाइरल भइरहेको फुटेजका आधारमा फिफाको अनुशासन समितिले पूर्वव्यापी प्रतिबन्ध वा जरिवाना लगाउने सम्भावना रहेको विश्लेषकहरूको भनाइ छ ।

यता अर्जेन्टिनी खेलाडीहरू पनि विवादमुक्त छैनन् । जित पछि मैदानमै उनीहरूले ‘लास मालभिनास सन अर्जेन्टिनास’ (फकल्यान्ड टापु अर्जेन्टिनाको हो) भन्ने ब्यानर फैलाएका थिए, जसका कारण फिफाले अर्जेन्टिनालाई पनि कारबाहीको दायरामा ल्याउन सक्ने चर्चा चलेको छ।

यस हारसँगै इंग्ल्यान्ड विश्वकपबाट बाहिरिएको छ र शनिबार तेस्रो स्थानको खेलमा फ्रान्ससँग भिड्नेछ। अर्कोतर्फ अर्जेन्टिनाले फाइनलमा स्पेनसँग खेल्नेछ।