
एजेन्सी । भारतको विदेश मन्त्रालयले आइतबार ओमानको तट नजिकै भारतीय चालक दलका सदस्यहरू सवार एक व्यापारिक जहाजमाथि भएको आक्रमणको कडा निन्दा गरेको छ । पश्चिम एसियामा व्यापारिक ढुवानीमाथि भइरहेका निरन्तर आक्रमणहरू अत्यन्तै चिन्ताजनक भएको बताएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले एक विज्ञप्ति जारी गर्दै जहाजमा सवार ११ भारतीय नागरिकमध्ये १० जनाको उद्धार गरिएको र एकजना अझै बेपत्ता रहेको जानकारी दिएका छन् ।
ओमानस्थित भारतीय दूतावासले स्थितिलाई नजिकबाट नियालिरहेको र जारी खोजी तथा उद्धार कार्यमा ओमानका अधिकारीहरूसँग समन्वय गरिरहेको जायसवालले बताए । ‘आज बिहान ओमानको तट नजिकै व्यापारिक जहाज जीएफएस ग्यालेक्सीमाथि भएको आक्रमणको हामी निन्दा गर्छाैं । जहाजमा रहेका ११ भारतीय नागरिकमध्ये अहिलेसम्म १० जनाको उद्धार गरिएको छ भने एकजना भारतीय नागरिक बेपत्ता रहेको खबर छ,’ जायसवालले भने ।
उनले थपे, ‘ओमानस्थित हाम्रो दूतावासले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र खोजी तथा उद्धार कार्यमा ओमानका अधिकारीहरूसँग सक्रिय रूपमा समन्वय गरिरहेको छ । हामी ओमानका अधिकारीहरूलाई उनीहरूको सहयोगका लागि धन्यवाद दिन्छौं ।’
यसका साथै विदेश मन्त्रालयका प्रवक्ताले अमेरिका र इरानबीचको तनाव घटाउन र पश्चिम एसियामा तत्काल स्थिति सहज बनाउन नयाँ दिल्लीको आह्वानलाई पुनः दोहोर्याएका छन् ।
‘यस क्षेत्रमा व्यापारिक ढुवानीमाथि भइरहेका निरन्तर आक्रमणका घटनाहरू अत्यन्तै चिन्ताजनक छन् । हामी यस क्षेत्रमा शान्ति र स्थिरता फर्काउनका लागि तनाव घटाउन र कूटनीतिक समाधानका लागि भइरहेको वार्तालाई निष्कर्षमा पुर्याउन पुनः आह्वान गर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
उनले थप भने, ‘यस क्षेत्रमा व्यापारिक ढुवानी र नागरिक पूर्वाधारलाई लक्षित गर्ने कार्य बन्द हुनुपर्छ र अन्तर्राष्ट्रिय कानुन बमोजिम यस क्षेत्रका अन्तर्राष्ट्रिय जलमार्गहरूबाट हुने स्वतन्त्र तथा निर्बाध आवागमन र व्यापारलाई यथाशक्य चाँडो पुनर्बहाली गरिनुपर्छ ।’






प्रतिक्रिया