ट्रम्प प्रशासनले न्युयोर्क टाइम्सका पत्रकारहरूका विरुद्ध किन समन जारी गर्यो ?


एजेन्सी । नयाँ एयरफोर्स वान (राष्ट्रपतिले चढ्ने जहाज) सँग सम्बन्धित सुरक्षा चिन्ताहरूबारे रिपोर्ट प्रकाशित गरेपछि ट्रम्प प्रशासनले न्युयोर्क टाइम्सका कैयौं पत्रकारहरू विरुद्ध समन जारी गरेको उक्त सञ्चारमाध्यमले जनाएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पलाई कतारले दान दिएको नयाँ एयरफोर्स वानको सुरक्षा सम्बन्धी चिन्ताहरूबारे रिपोर्टिङ गरेपछि अमेरिकी न्याय मन्त्रालयले आफ्ना कैयौं पत्रकारहरूलाई संघीय ग्रान्ड जुरीसमक्ष बयान दिन आदेश दिएको शनिबार न्युयोर्क टाइम्सले बताएको छ ।

उक्त मिडिया संस्थाका अनुसार, शुक्रबार समन जारी गरिएको थियो र पत्रकारहरूलाई संघीय फौजदारी कानुनको कथित उल्लंघनका सम्बन्धमा बयान दिन बुधबार ग्रान्ड जुरीसमक्ष उपस्थित हुन भनिएको छ । म्यानह्याटनका अमेरिकी सरकारी वकिल जे क्लेटनले ती समनहरू जारी गरेका हुन् र कतिपय अवस्थामा संघीय एजेन्टहरूले पत्रकारहरूको घरमै पुगेर समन बुझाएको समाचार संस्थाले उल्लेख गरेको छ ।

न्युयोर्क टाइम्सले उक्त कदमलाई स्वतन्त्र समाचार संस्थाहरूलाई धम्काउने र तर्साउने राष्ट्रपति ट्रम्पको प्रयासमा भएको असाधारण वृद्धि भनी व्याख्या गरेको छ ।

रोयटर्सलाई दिएको एक विज्ञप्तिमा न्याय मन्त्रालयका प्रवक्ताले समन जारी भएको विषयमा पुष्टि वा खण्डन गरेनन् तर प्रशासनले पत्रकारहरूलाई लक्षित नगरेको बरु गोप्य सूचना चुहावट गर्ने व्यक्तिहरूप्रति चिन्तित रहेको बताएका छन् । ह्वाइट हाउसले यसबारेका सबै प्रश्नहरू न्याय मन्त्रालयतर्फ पन्छाएको छ ।

पत्रकारिता अधिकारका क्षेत्रमा कार्यरत समूहहरूले ती समनलाई प्रेस स्वतन्त्रता र संवैधानिक अधिकारमाथिको खतरा भन्दै कडा आलोचना गरेका छन् ।

नेशनल प्रेस क्लबले न्याय मन्त्रालयलाई तत्काल ती समनहरू फिर्ता लिन आग्रह गरेको छ । क्लबले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जब संघीय एजेन्टहरू समन लिएर पत्रकारहरूको घरमै पुग्छन्, यो सामान्य कानुन कार्यान्वयन होइन । यो प्रेस स्वतन्त्रतामाथिको असाधारण हमला हो जसले अमेरिकी संविधानको पहिलो संशोधनको मर्ममै प्रहार गर्छ ।’

क्लेटनलाई हालै ट्रम्पले नेशनल इन्टेलिजेन्सको निर्देशकको कार्यालयको नेतृत्व गर्न मनोनित गरेका थिए । ‘रिपोर्टर्स कमिटी फर फ्रिडम अफ द प्रेस’ले अमेरिकी सिनेटको इन्टेलिजेन्स कमिटीलाई आगामी बुधबार हुने अनुमोदन सुनुवाइका क्रममा क्लेटनलाई यस विषयमा जवाफदेही बनाउन आह्वान गरेको छ ।

रिपोर्टर्स कमिटीका अध्यक्ष स्टीफन जे. एडलरले एक विज्ञप्तिमा भनेका छन्, ‘जब जनताको जान्न पाउने अधिकारलाई कुल्चिइन्छ, जस्तो कि ट्रम्प प्रशासनले न्युयोर्क टाइम्स विरुद्ध समन जारी गरेर गर्न खोजिरहेको छ, यसले हामी सबैलाई अपूरणीय क्षति पुर्याउँछ र यो राष्ट्र जुन स्वतन्त्रतामा बनेको छ, त्यसलाई पनि असर पर्छ ।’

ट्रम्पले बुधबार अंकाराबाट बेलायतको माइल्डेनहलस्थित रोयल एयरफोर्स बेससम्म उडान भर्न पुरानो यादका लागि पुरानो एयरफोर्स वान प्रयोग गर्ने बताएका थिए जबकि नयाँ विमान पनि सोही बेसमा रोकिएको थियो ताकि त्यहाँ तैनाथ अमेरिकी सैनिकहरूले विमानको निरीक्षण गर्न सकून् ।

बुधबार ढिलो गरी सार्वजनिक भएको भिडियोमा ट्रम्प बेलायती बेसबाट अमेरिका उड्न तयार भएको र कतारले उपहार दिएको नयाँ एयरफोर्स वानमा चढ्दै गरेको देखाइएको थियो ।