कानुनविपरित भारतको विमानस्थलबाट कामदार उडाउने ८ म्यानपावर कम्पनीलाई ५० हजार जरिवाना


काठमाडौं । गैरकानुनी रूपमा भारतको विमानस्थल प्रयोग गरी कामदार उडाउने ८ म्यानवापर कम्पनीलाई दण्डित गरिएको छ । वैदेशिक रोजगार विभागले ८ म्यानपावर कम्पनीलाई प्रति कम्पनी ५० हजार रुपैयाँ जरिवाना सहित दण्डित गरेको हो ।

नियम विपरीत भारतको विमानस्थल प्रयोग गरी कामदार उडाएको र माग गरिएको विवरण नपठाएको भन्दै उनीहरूलाई दण्डित गरिएको विभागद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

दोस्रो पटकसम्म पनि विभागले भनेको नमानेपछि उनीहरूलाई जरिवाना तिराइएको हो । जरिवाना तिर्नेमा ग्राण्ड सुइट जब प्रालि, मास ह्युमन रिसोर्स प्रालि, एपेक्स एचआर कन्सल्टेन्सी प्रालि, टेस्ला ओभरसिज प्रालि, सुनागुवा इन्टरनेसनल प्रालि, एलाइड इन्टरनेसनल म्यानपावर प्रा.लि. र अञ्जली ओभरसिज सर्भिस प्रालि हुन् ।

वैदेशिक रोजगारीमा जाने कामदारहरूले अनिवार्य रूपमा स्वदेशी विमानस्थल नै प्रयोग गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ को कार्यान्वयन स्थिति बुझ्न विभागले २०८२ चैत १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिई कामदार पठाएका संस्थाहरूसँग उडानको विस्तृत विवरण माग गरेको थियो । तर, संचालनमा रहेका कुल १,११७ इजाजतवाला संस्थाहरूमध्ये ६७८ वटाले मात्र विवरण बुझाएका थिए ।

प्राप्त विवरणको अनुगमन र अध्ययन गर्दा ठूलो संख्यामा म्यानपावर कम्पनीहरूले कानुनी सर्तहरूको धज्जी उडाएको पाइएको छ । विभागको निर्देशन र वैदेशिक रोजगार ऐन तथा नियमावलीको पटक–पटक उल्लंघन गर्ने केही म्यानपावर कम्पनीहरूलाई नगद जरिवानासहित थप कडा कारबाही गरिएको हो ।