भारत र न्युजिल्यान्डबीच सन् २०३० सम्म द्विपक्षीय व्यापार ३५ हजार करोड भारु पुर्याउने लक्ष्य


एजेन्सी । अक्ल्यान्डमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र न्युजिल्यान्डका समकक्षी क्रिस्टोफर लक्सनबीच भएको वार्तापछि भारत र न्युजिल्यान्डले शनिबार थुप्रै रक्षा सम्झौताहरू गर्दै आफ्नो द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको तहमा पुर्याएका छन् ।

यस क्रममा दुवै देशले सन् २०३० सम्ममा वस्तु तथा सेवाको वार्षिक व्यापारलाई दोब्बर बनाएर ३५ हजार करोड भारतीय रुपैयाँ पुर्याउने लक्ष्य समेत निर्धारण गरेका छन् । वार्तापछि दुवै पक्षले १० वटा समझदारी पत्र र सम्झौतासहित १८ वटा मुख्य उपलब्धिहरू घोषणा गरेका छन् ।

त्यसमा भारतीय जलसेना र न्युजिल्यान्ड रक्षा बलबीच पारस्परिक लजिस्टिक सहायता उपलब्ध गराउने प्रावधानका साथै आगामी चार वर्षमा सम्बन्धित मन्त्रालय र सरोकारवालाहरू मार्फत रणनीतिक साझेदारीको व्यवस्थित कार्यान्वयनका लागि सन् २०३० सम्मको मार्गचित्र पनि समावेश छ ।

प्रधानमन्त्री मोदीले हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उद्देश्यका साथ गरिएका सम्झौताहरूसँगै रक्षा साझेदारी नयाँ चरणमा प्रवेश गरेको बताए । लक्सनद्वारा आफ्नो सम्मानमा आयोजित दिवाभोजमा बोल्दै उनले भने, ‘रक्षा र सुरक्षामा हाम्रो बढ्दो सहयोग गहिरो रणनीतिक विश्वासको प्रतीक हो ।

गत वर्ष हस्ताक्षरित रक्षा सहयोग सम्झौताले हाम्रो सहकार्यका लागि बलियो संरचना तयार गरेको थियो भने आज हामीले हिन्द–प्रशान्त क्षेत्रमा सामुद्रिक सहयोगको ढाँचामा पनि सहमति जुटाएका छौं ।’

उनले द्विपक्षीय जलसेना अभ्यास, लजिस्टिक सहायता र हाइड्रोग्राफी (जल सर्वेक्षण) मा सहयोग मार्फत दुई देशबीचको आपसी समन्वय अझ बढ्ने विश्वास व्यक्त गरे ।

अन्य महत्त्वपूर्ण उपलब्धिहरूमा आतंकवाद विरोधी संयुक्त कार्यदल गठन गर्ने व्यवस्था र सामुद्रिक सुरक्षा संवादको स्थापना पनि रहेका छन् । न्युजिल्यान्डले भारतको इन्डो–प्यासिफिक ओसन्स इनिसिएटिभ (हिन्द–प्रशान्त महासागर पहल) अन्तर्गत सामुद्रिक सुरक्षालाई प्राथमिकताको स्तम्भका रूपमा मनोनयन गरेको छ ।

सामुद्रिक सहयोग सम्बन्धी समझदारी पत्रले संवाद, समन्वय, सूचना आदानप्रदान र संयुक्त गतिविधिहरू मार्फत हिन्द–प्रशान्त क्षेत्रमा सामुद्रिक सहकार्य बढाउन एउटा ढाँचा तयार गरेको छ । दुवै पक्षले हिन्द–प्रशान्त क्षेत्रमा स्थायित्व कायम गर्न चाहेकाले सामुद्रिक सुरक्षा संवादले सहयोग, समन्वय र सूचना आदानप्रदानलाई अझ सुदृढ बनाउनेछ ।

तीन राष्ट्रको भ्रमण समापन गर्दै अक्ल्यान्डमा भारतीय समुदायलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले भारत र न्युजिल्यान्डबीचको सम्बन्ध मित्रता, साझा मूल्यमान्यता र मजबुत भविष्यप्रतिको आपसी प्रतिबद्धतामा आधारित रहेको बताए ।

न्युजिल्यान्डको सांस्कृतिक सम्पदाको प्रसंग जोड्दै उनले वाका शब्दको महत्त्वमाथि प्रकाश पारे । त्यसले शताब्दीयौंदेखि मानिसहरूलाई एकताबद्ध गर्ने प्रतीकको रूपमा काम गरेको छ । मोदीले वाका डुंगा मात्र नभएर साझा यात्राको प्रतीक भएको बताउँदै भारत र न्युजिल्यान्डको यो वाका अब दुई राष्ट्रबीचको बढ्दो साझेदारीलाई प्रतिबिम्बित गर्दै नयाँ यात्रामा निस्कन तयार भएको उल्लेख गरे ।